७ बैसाख,बारा । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयहरूबाट विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीलाई ‘चरम अलोकतान्त्रिक’ र ‘प्राज्ञिक स्वायत्ततामाथिको ठाडो हस्तक्षेप’ को संज्ञा दिँदै तीव्र विरोध जनाएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता ज्ञवालीले विद्यार्थी संगठन खारेज गर्ने प्रयोजनका लागि विश्वविद्यालयहरूमा सुरक्षा युनिट स्थापना गर्नु शैक्षिक संस्थाको स्वतन्त्रता विरुद्ध भएको उल्लेख गर्दै निरङ्कुश पञ्चायतकालमा समेत सरकारले गर्न नसकेको यस्तो धृष्टतामा उपकुलपतिहरूले कसरी हस्ताक्षर गरे भनी गम्भीर प्रश्न उठाएका छन्।
विद्यार्थी आन्दोलनमा केही समस्याहरू देखिएको र कतिपय अवस्थामा संगठनहरू मूल मुद्दाबाट बरालिएको स्वीकार गर्दै उनले समस्याको समाधान निषेध नभई संवाद, रचनात्मक सहकार्य र गुणस्तरीय शिक्षाका लागि आन्दोलनको रूपान्तरण हुनुपर्नेमा जोड दिएका छन्।
सरकारको यो कदमको आलोचना गर्दै उनले ‘कपालमा चाया पर्यो भन्दैमा गर्धन नै छिनाउने?’ भन्दै कडा व्यङ्ग्य समेत गरेका छन्।
