१६ फागुन,काठमाण्डाैं । विभिन्न सातवटा अन्तरराष्ट्रिय विमानस्थलले हवाई उडानमा प्रतिबन्ध लगाएका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आज दिउँसो र राति हुने भनिएका सबै उडानहरू रद्द भएका छन्।
विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार सारजहा, दोहा, दुबई, कुबेत सिटी, अबुधाबी, कतार र दमाम विमानस्थलमा उडान प्रतिबन्ध गरिएकाले नेपालबाट ती गन्तव्यमा हुने उडानहरू स्थगित गर्नु परेको हो।
ती उडानहरू पुनः कहिलेदेखि सञ्चालन हुन्छन् भन्नेबारे अर्को निर्णय भएपछि मात्रै जानकारी दिइने सिटौलाले स्पष्ट पार्नुभयो। यसैबीच, उडान रद्द भएपछि उत्पन्न हुनसक्ने अन्योललाई मध्यनजर गर्दै विमानस्थल कार्यालयले यात्रुहरूलाई विमानस्थल जानुअघि सम्बन्धित वायुसेवा कम्पनीमा अनिवार्य सम्पर्क गरेर मात्र घरबाट निस्कन विशेष आग्रह गरेको छ।
