सिमरा–काठमाडौं बुद्ध एयरको उडान ४५ मिनेट ढिलो, यात्रु मर्कामा
२ असाेज, बारा । सिमरा विमानस्थलबाट काठमाडौं जाने बुद्ध एयरको उडान निर्धारित समयभन्दा करिब ४५ मिनेट ढिलो हुँदा यात्रुहरू मर्कामा परेका छन्।
शुक्रबार १२ः१५ बजे सिमराबाट काठमाडौंका लागि निर्धारित U4 554 उडान समयमै नहुँदा यात्रुहरूले विमानस्थलमै लामो समय प्रतीक्षा गर्नुपरेको हो। यात्रुहरू बोर्डिङ पास लिएर निर्धारित समयमा विमानस्थल पुगे पनि उडान ढिलो भएपछि उनीहरूको समय खेर गएको गुनासो छ।
सिमराबाट काठमाडौं सडकमार्ग हुँदै जाँदा करिब चार घण्टा लाग्ने भएकाले छोटो समयमा काठमाडौं पुगेर अत्यावश्यक काम सकेर फर्किनुपर्ने यात्रुहरू हवाई सेवामा निर्भर हुने गरेका छन्।
तर उडान नै समयमा नहुँदा हवाई यात्रा रोज्नुको मुख्य उद्देश्य समय बचत प्रभावित हुने यात्रुहरूको भनाइ छ। एक यात्रुले भने, “काठमाडौंमा अत्यावश्यक काम सकेर समयमै फर्किने योजना बनाएर जहाज चढेका हौँ।
१७ मिनेटमै पुग्ने यात्राका लागि ४५ मिनेट ढिलो भएपछि हाम्रो कामको तालिका नै प्रभावित हुन्छ।” सिमरा–काठमाडौं रुटमा बुद्ध एयरको नियमित सेवा रहेकाले यात्रुहरूले समयमै उडान सञ्चालन गर्न तथा ढिलाइ भए त्यसको कारण र नयाँ उडान समयबारे यात्रुलाई तत्काल जानकारी गराउन माग गरेका छन्।
सिमरा विमानस्थलमा बुद्ध एयरको प्रत्यक्ष सेवामा यात्रुको निर्भरता रहेकाले उडान समयपालन र यात्रुप्रतिको जवाफदेहिता थप महत्वपूर्ण रहेको यात्रुहरूको भनाइ छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0