‘जनपरिचालन छाडेर सरुवा–बढुवामा अल्झिँदा जनतासँगको सम्बन्ध टुट्यो’: प्रदीप ज्ञवाली
२३ भदाै,बारा । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टीको जनतासँगको सम्बन्ध टाढिँदा एमाले कमजोर बनेको बताएका छन्।
पार्टीका नेता–कार्यकर्ता जनपरिचालनमा भन्दा सिडिओ, प्रहरी तथा प्रशासकीय अधिकृतको सरुवामा केन्द्रित हुँदा जनतासँगको सम्बन्ध कमजोर भएको उनको भनाइ छ। एमाले मधेस प्रदेश कमिटीले धनुषाको लालगढमा आयोजना गरेको ‘मिसन जागरण अभियान’को अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वउपमहासचिव ज्ञवालीले पार्टीको कार्यशैली सरकारी र ‘राजर्षी’ जस्तो बनेको बताए।
‘एमाले जनपरिचालन गर्ने पार्टी हो, तर हाम्रो कार्यशैली सरकारी भयो, राजर्षी भयो,’ ज्ञवालीले भने, ‘हाम्रो ध्यान सिडिओ सरुवा, प्रहरी र प्रशासकीय अधिकृतको सरुवातिर केन्द्रित भयो। यसले पार्टी नेतालाई जनतासँग टाढा पुर्यायो।
यो कुरा आजैका मितिबाट सुधार हुन जरुरी छ।’ उनले फागुनमा भएको निर्वाचनमा एमालेले कमजोर नतिजा ल्याउनुमा पार्टीभित्रको आन्तरिक एकता कमजोर हुनु पनि प्रमुख कारण रहेको बताए।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता विवाद, समूह–उपसमूहको निर्माण तथा निर्वाचनमा एकताबद्ध भएर अघि बढ्न नसक्दा पार्टीले क्षति व्यहोर्नुपरेको उनको भनाइ छ। ‘गतवर्षको भदौ २३ गतेसम्म एमाले ठूलो र बलियो पार्टी थियो, तर यसवर्षको भदौ २३ मा एमाले कमजोर पार्टी भएको छ,’ ज्ञवालीले भने, ‘यो अवस्था आउनुमा पार्टी जनताका मुद्दाबाट टाढिएको परिणाम हो।’
पार्टी जनताका मुद्दाबाट टाढिँदा संविधान मिचिँदा तथा एमालेका नेतामाथि सरकारले ज्यादती गर्दा समेत जनता सडकमा नआएको उनले बताए। ज्ञवालीले २०७९ को निर्वाचनपछि जनताले एमालेलाई सत्ताभोगी पार्टीका रूपमा बुझ्न थालेको समेत बताए।
२०७९ देखि २०८२ सम्म एमालेले चार पटक सत्ता समीकरण परिवर्तन गरेको उल्लेख गर्दै उनले त्यसको कारण जनतालाई स्पष्ट पार्न नसकिएको बताए। ‘२०७९ देखि ०८२ सम्म एमालेले चार पटक सत्ता समीकरण बदल्यो। पहिला प्रचण्डलाई प्रधानमन्त्री बनायो, केही महिनामै त्यो सरकार छाड्यो।
फेरि प्रचण्डलाई नै प्रधानमन्त्री मानेर सरकारमा सहभागी भयो,’ उनले भने, ‘सरकारमा भित्रिने वा बाहिरिने कारण हामीले जनतालाई भनेनौँ। आखिर प्रचण्ड सुध्रिएर हामी सत्तामा गएका थियौँ कि हामी सुध्रिएर ? यसको जवाफ अझै पनि जनताले खोजेका छन् ।
प्रचण्ड नेतृत्वको सरकारबाट हठात् बाहिरिएर नेपाली कांग्रेससँग सहकार्य गर्ने निर्णयले पनि जनतामा नकारात्मक सन्देश गएको ज्ञवालीले बताए। उनले अब एमालेले जनताका समस्या पहिचान गर्ने, ती समस्या उठान गर्ने र समाधानका लागि प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0