बाढी–पहिरोका कारण मुख्य राजमार्ग अवरुद्ध, विभिन्न सडकखण्डमा यातायात प्रभावित
ईर्साद अन्सारी
२२ भदाै,काठमाण्डाैं । बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्लामा मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ।
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार सोमबार बिहान ६ः४० बजेसम्म काठमाडौं उपत्यकासहित बागमती, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न सडकखण्ड पूर्ण तथा आंशिक रूपमा अवरुद्ध छन्।
काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ चिसापानीमा पहिरोका कारण काठमाडौंबाट धादिङतर्फ जाने सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ। बागमती प्रदेशअन्तर्गत काभ्रेको बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमका कारण खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सवारी सञ्चालन प्रभावित भएको छ।
त्यहाँ राति ७ बजेदेखि बिहान ५ बजेसम्म १० टनसम्मका मालवाहक सवारी सञ्चालन गर्न दिइने तथा बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म परिस्थितिअनुसार सवारी सञ्चालन गरिने व्यवस्था रहेको छ। रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा सम्भावित बाढी तथा पहिरोका कारण त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ।
नुवाकोटको शिवपुरी गाउँपालिका–८ घट्टेखोला र वेत्रावती नगरपालिका–१० सिमटार क्षेत्रमा पनि बाढी तथा पहिरोका कारण सडक यातायात प्रभावित भएको छ। टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ भने पासाङल्हामु सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ। धादिङमा बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीर, गजुरी गाउँपालिका–२ परेवाभीर, बेनीघाट रोराङ–१० ज्वाङखोला तथा गजुरी–२ चालिसे क्षेत्रमा पहिरोका कारण पृथ्वीराजमार्ग प्रभावित भएको छ।
केही स्थानमा एकतर्फी तथा एक लेनबाट यातायात सञ्चालन भए पनि गजुरी–२ चालिसेमा सडक पूर्ण रूपमा अवरुद्ध रहेको छ। लुम्बिनी प्रदेशको रोल्पामा परिवर्तन गाउँपालिका–३ भालखोरमा पहिरोका कारण सहिद राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। त्यस्तै, कर्णाली प्रदेशका विभिन्न जिल्लामा पनि बाढी तथा पहिरोले सडक यातायातमा ठूलो असर पारेको छ।
मुगुको छायानाथ रारा नगरपालिका–४ ताल्चामा पहिरोका कारण मुगु–गमगढी सडक पूर्ण रूपमा अवरुद्ध छ। कालिकोटको शुभकालिका गाउँपालिका–१ गगने खोला तथा खाँडाचक्र नगरपालिका–७ र ८ को रातोपहाड क्षेत्रमा पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ। सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसेमा पहिरोका कारण कर्णाली राजमार्ग पूर्ण रूपमा बन्द छ।
सल्यानको कपुरकोट गाउँपालिका–४ आरिङ्गाले फेदीमा पहिरो जाँदा राप्ती राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। प्रहरीले अवरुद्ध सडकखण्डमा तत्काल सडक खुलाउने प्रयास भइरहेको जनाउँदै यात्रु तथा सवारी चालकलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र जोखिमपूर्ण क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ। सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0