ईर्साद अन्सारी
२८ जेठ,बारा । मकवानपुरको भीमफेदी गाउँपालिका–८ बैदमारस्थित भित्री सडकखण्डमा फास्ट ट्र्याक आयोजनामा प्रयोग भइरहेको पिकअप गाडी दुर्घटना हुँदा चालकसहित दुई जनाको ज्यान गएको छ।
बा.प्र.०१–०३३ च २१४४ नम्बरको पिकअप गाडी अनियन्त्रित भई सडकबाट करिब १०० फिट तल खोल्सामा खस्दा सो दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परि सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानका करिब ४२ वर्षीय चालक बोधराज बुढाथोकी र फास्ट ट्र्याक आयोजनामा कार्यरत बाराको पचरौता नगरपालिका–७ निवासी २१ वर्षीय इन्जिनियर सूर्य यादवको मृत्यु भएको हो।
घटनालगत्तै सुरक्षाकर्मी तथा स्थानीय बासिन्दाले उद्धार कार्य सञ्चालन गरे तापनि गम्भीर घाइते भएका दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक विवरणमा उल्लेख छ। दुर्घटनाको वास्तविक कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ भने घटनासम्बन्धी थप विवरण संकलन गर्ने कार्य भइरहेको जनाइएको छ।
