अपराध नियन्त्रणमा पर्सा प्रहरीको ठूलो छलाङ्ग: प्रदेशकै सर्वोत्कृष्ट बन्दै रच्यो यस्तो इतिहास

छानबिन न्यूज
पाठक संख्या 101
2 Min Read
Oplus_16908288

२४ जेठ,बारा । जिल्ला प्रहरी कार्यालय पर्साले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यसम्पादन मूल्यांकनमा मधेश प्रदेशका जिल्लाहरूमध्ये सर्वोत्कृष्ट उपलब्धि हासिल गरेको छ।

उत्कृष्ट कार्यसम्पादन गरेबापत कार्यालय प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठक प्रशंसापत्रसहित सम्मानित भएका छन।

प्रहरी कार्यालयले सार्वजनिक गरेको एक वर्षे विवरणअनुसार फैसला कार्यान्वयनका क्रममा ७७५ जना फरार प्रतिवादीबाट १५२ वर्ष ८ महिना २१ दिन कैद र ७ करोड ६६ लाख ९६ हजार ७६० रुपैयाँ जरिवाना असुल गरिएको छ।

लागूऔषध नियन्त्रणतर्फ ४३ वटा मुद्दा दर्ता गरी ५९ जनालाई पक्राउ गर्नुका साथै ७९९ किलो ८४० ग्राम गाँजा, २६९ किलो ४०० ग्राम चरेश, ४१ ग्राम ६८९ मिलिग्राम ब्राउन सुगर, भारी मात्रामा एम्पुल, नाइट्राजेपाम र १ लाख ३६ हजार ७१० क्याप्सुल ट्रामाडोल बरामद गरिएको छ भने ७ बिघा १५ कठ्ठामा लगाइएका ४ लाख ३२ हजार ६०० गाँजाका बोट तथा १९ वटा अवैध भट्टीसहित १२,८८५ लिटर तयारी मदिरा र २९,९४० लिटर कच्चा पदार्थ नष्ट गरिएको छ।

वित्तीय अपराधतर्फ हुण्डी कारोबारमा संलग्न १३ जनालाई ६२ लाख ६१ हजार ४७० रुपैयाँसहित पक्राउ गरी ९ वटा मुद्दा दर्ता गरिएको छ भने भन्सार तथा राजस्व चोरी पैठारीतर्फ ४ जनालाई पक्राउ र ४९ वटा सवारी साधन नियन्त्रणमा लिई कुल ४३ करोड ९८ लाख ६७ हजार ४५० रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको छ, जसमा विशेष अपरेशनमार्फत बरामद गरिएको ४ करोड ७७ लाख रुपैयाँ बराबरको सुपारी समेत समावेश छ।

मानव बेचबिखन विरुद्धको अभियानमा ३ वटा मुद्दा दर्ता गरी ५ जनालाई पक्राउ गर्नुका साथै ३९ जना महिला तथा बालबालिकाको सकुशल उद्धार गरिएको छ।

साथै, ज्यानसम्बन्धी कसूरमा संलग्न ७ जना अभियुक्तलाई भारतको मोतिहारीबाट पक्राउ गरी नेपाल ल्याएर अनुसन्धान अघि बढाइनुका साथै घरेलु हिंसाका गम्भीर घटनामा संलग्नहरूलाई समेत कानुनी दायरामा ल्याइएकाले पर्सा प्रहरीको यस वर्षको कार्यसम्पादन लागूऔषध, सीमा अपराध नियन्त्रण र राजस्व सुरक्षामा अत्यन्त प्रभावकारी र ऐतिहासिक देखिएको छ।

प्रतिक्रिया
शेयर