२८ जेठ,बारा । चिनियाँ फर्सीकाे बीउ भारत तर्फ अवैध रूपमा लान रौतहटको बंकुल बजारमा भण्डारण गरी राखिएको ३२२ बोरा फर्सीकाे बीउ बरामद गर्ने क्रममा प्रहरी र तस्कर समूहबीच झडप भएको छ।
बुधबार राति करिब ९:३० बजे चोर बाटो हुँदै अवैध सामग्री भित्र्याइएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी नायव उपरीक्षकको नेतृत्वमा खटिएको गस्ती टोलीले उक्त सामग्री नियन्त्रणमा लिन खोज्दा तस्करहरूले स्थानीय महिलाहरूलाई ढाल बनाएर प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेका थिए।
स्थिति नियन्त्रणमा लिन र आत्मरक्षाका लागि प्रहरीले चलाएको गोलीको छर्रा लागेर बौधिमाई नगरपालिकाका पूर्व कार्यपालिका सदस्य जैसीलाल ठाकुर घाइते भएका छन्।
स्थानीय पत्रकार उत्तम उपाध्यायका अनुसार तल्लो खुट्टामा गहिरो चोट लागेका घाइते ठाकुरको बंकुलस्थित स्थानीय क्लिनिकमा चिकित्सक टोलीद्वारा टाँका लगाउने लगायतका आकस्मिक उपचार भइरहेको छ।
घटनालगत्तै प्रहरीले लाखौँ मूल्य बराबरको ३२२ बोरा अवैध फर्कोसी बीउ बरामद गरी जिल्ला प्रहरी कार्यालय गौर पुर्याएको छ भने सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्दै घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
