इजरायल र इरानको यात्रा नगर्न सरकारको अपील, मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन आग्रह

छानबिन न्यूज
पाठक संख्या 112
1 Min Read

१६ फागुन,काठमाण्डाैं ।  मध्यपूर्वमा बढ्दै गएको तनावपूर्ण परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकारले आफ्ना नागरिकहरूलाई तत्काल इजरायल र इरानको यात्रा नगर्न विशेष अपील गरेको छ।

परराष्ट्र मन्त्रालयले आज एक ट्राभल एडभाइजरी जारी गर्दै त्यहाँको अवस्था सामान्य नभएसम्मका लागि पूर्वयोजना रहेका नेपालीहरूलाई पनि यात्रा स्थगित गर्न आग्रह गरेको हो।

मन्त्रालयले मध्यपूर्वको पछिल्लो विकासक्रमलाई नजिकबाट नियालिरहेको बताउँदै हाल इजरायल र इरानमा बसोबास गरिरहेका नेपालीहरूलाई स्थानीय निकायले जारी गरेका सुरक्षा निर्देशनहरू कडाइका साथ पालना गर्न, अनावश्यक यात्रा नगर्न र सकेसम्म घरभित्रै बसेर उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ।

साथै, त्यहाँ रहेका नेपालीहरूलाई स्थानीय नेपाली समुदाय र सम्बन्धित देशका नेपाली राजदूतावास (तेल अभिव र दोहा) सँग नियमित सम्पर्कमा रहन र मन्त्रालयको सम्पर्कमा रहन समेत भनिएको छ।

अन्य मध्यपूर्वी देशहरूमा कार्यरत नेपालीहरूलाई पनि पछिल्लो घटनाक्रमबारे सचेत रहँदै सुरक्षा सुझावहरू पालना गर्न मन्त्रालयले विशेष अनुरोध गरेको छ।

प्रतिक्रिया
शेयर