समाचार लेखेकै आधारमा पत्रकार पक्राउप्रति रास्वपाको आपत्ति, बिनासर्त रिहा गर्न माग
१३ कातिक,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समाचार लेखेकै आधारमा प्रहरीले सञ्चारगृहमा प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिएको तथा अन्य पत्रकारको खोजी गरिरहेको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।
पार्टीले शुक्रबार विज्ञप्ति जारी गर्दै स्वतन्त्र प्रेसमाथि भय र त्रास सिर्जना गर्ने तथा सञ्चारगृहको गरिमामाथि प्रहार गर्ने गतिविधि लोकतान्त्रिक आचरणविपरीत भएको जनाएको हो।
रास्वपाका प्रवक्ता जगदीश खरेलद्वारा जारी विज्ञप्तिमा प्रेस स्वतन्त्रतामाथिको प्रहार नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकारमाथिकै कुठाराघात भएको उल्लेख छ। समाचार सामग्रीप्रति कसैको विमति, गुनासो वा कानुनी प्रश्न भए त्यसको निरूपण राज्यले स्थापित गरेका कानुनी प्रक्रिया र वैधानिक निकायमार्फत हुनुपर्ने पार्टीको भनाइ छ।
सञ्चारमाध्यमलाई नियमन गर्ने अधिकारप्राप्त संस्था हुँदाहुँदै स्थापित कानुनी बाटो छलेर सञ्चारकर्मीमाथि धरपकड गर्नु विधिको शासनको उल्लङ्घन भएको रास्वपाले जनाएको छ।
पार्टीले समाचार लेखेकै आधारमा केही सञ्चारकर्मीलाई नियन्त्रणमा लिइएको र अन्यको खोजी भइरहेको भन्ने घटनाबारे निष्पक्ष, पारदर्शी र यथार्थ छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरेको छ।
त्यसैगरी, गैरकानुनी ढङ्गले नियन्त्रणमा लिइएका सञ्चारकर्मीलाई ससम्मान र बिनासर्त तत्काल रिहा गर्न पनि रास्वपाले जोडदार माग गरेको छ। विज्ञप्तिमा कुनै पनि भय, त्रास र अनुचित दबाबका अगाडि नझुकी सत्य, तथ्य र निष्ठाको पत्रकारितालाई निरन्तरता दिन सञ्चारकर्मीलाई आह्वान गर्दै सम्पूर्ण सञ्चार जगत्प्रति ऐक्यबद्धता व्यक्त गरिएको छ।
सञ्चारकर्मीको पेसागत मर्यादा, भौतिक तथा मनोवैज्ञानिक सुरक्षा र संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको रक्षाका पक्षमा पार्टीको अडान सधैँ सम्झौताहीन रहने प्रवक्ता खरेलले उल्लेख गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0