वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोहका ५ जना पक्राउ
२२ भदाै,रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–२ मझुवा नेवारटोलमा वृद्ध दम्पतीलाई बन्धक बनाएर गरगहना तथा नगद लुटपाट गर्ने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार गत भदौ १८ गते राति करिब १२ बजे ८५ वर्षीय बखतमान लामा र उनकी ८६ वर्षीया श्रीमती कान्छीमाया तामाङ घरमा सुतिरहेको अवस्थामा नकाबधारी तीन जनाको समूहले ढोका फुटाएर घरभित्र प्रवेश गरेको थियो।
उनीहरूले वृद्ध दम्पतीको हात प्लास्टिकको टेपले बाँध्नुका साथै मुख थुनेर आँखामा पट्टी लगाई ज्यान मार्ने धम्की दिँदै नियन्त्रणमा लिएका थिए। त्यसपछि उनीहरूले वृद्ध दम्पतीले लगाएका गरगहना र घरमा राखिएको नगद लुटेर फरार भएका थिए।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले भदौ २० गते भक्तपुरका विभिन्न स्थानबाट पाँच जनालाई डकैतीमा प्रयोग भएको भनिएको सवारीसाधन तथा चोरीका सामानसहित पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सिन्धुली घ्याङलेख–२ का २५ वर्षीय सुमन जर्घा मगर, रामेछाप खाँडादेवी–२ का ३२ वर्षीय दिर्घराज मोक्तान, सोही स्थानका ३३ वर्षीय पशुपति श्रेष्ठ, झापा दमक–७ का ४४ वर्षीय पिताम्बर गहतराज र धनकुटा बेलाहारा–५ का ३८ वर्षीय दिपक भनिने गुणराज विश्वकर्मा रहेका छन्।
प्रहरीका अनुसार उनीहरूको साथबाट नगद, मोबाइल, मोटरसाइकल, बैंकका कागजात, बुद्धचित्तको दाना, ढलौटको पानस–टुकी, पुराना सिक्का तथा सुनजस्तो पहेँलो धातुका औँठी र रिङलगायतका सामान बरामद गरिएको छ।
अनुसन्धानका क्रममा पशुपति श्रेष्ठको समूह रामेछापको खाँडादेवी–७ स्थित रुद्रेश्वर महादेव मन्दिरको दानपेटिका फुटाएर रकम चोरी गरेको घटनामा समेत संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ। त्यस्तै, खाँडादेवी–३ मा दुई छुट्टाछुट्टै घटनामा खसी तथा बोका चोरीमा समेत सोही समूहको संलग्नता पुष्टि भएको प्रहरीको भनाइ छ।
प्रहरीको Criminal Record System (CRS) अनुसार पक्राउ परेका पशुपति श्रेष्ठविरुद्ध यसअघि पनि प्रहरी वृत्त कालीमाटीबाट डाँका तथा चोरीसम्बन्धी मुद्दा चलेको पाइएको छ।
दिर्घराज मोक्तानविरुद्ध जिल्ला प्रहरी कार्यालय रामेछापबाट अभद्र व्यवहारसम्बन्धी मुद्दा चलेको तथा गुणराज विश्वकर्माविरुद्ध प्रहरी वृत्त बौद्धबाट जुवासम्बन्धी कसूरमा मुद्दा चलेको प्रहरीले जनाएको छ। पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0