भारतमा धान बोकेको ट्रकले तीर्थयात्रीलाई ठक्कर दिँदा १२ जनाको मृत्यु, २९ घाइते

Oct 18, 2026 - 08:33
 0  7
भारतमा धान बोकेको ट्रकले तीर्थयात्रीलाई ठक्कर दिँदा १२ जनाको मृत्यु, २९ घाइते

१ कार्तिक,काठमाण्डाैैं । भारतको मध्य प्रदेशस्थित ग्वालियरमा धान बोकेको अनियन्त्रित ट्रकले तीर्थयात्रीहरूलाई ठक्कर दिँदा १२ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन्।

 ग्वालियरस्थित शीतला माता मन्दिर जाने सडकमा शनिबार र आइतबारको मध्यराति भएको दुर्घटनामा मन्दिर दर्शनका लागि गइरहेका तीर्थयात्रीहरू परेका हुन्। दुर्घटना आइतबार बिहान करिब १:३० बजे भएको हो। प्रहरीका अनुसार छिनोरतर्फबाट धान बोकेर आइरहेको ट्रक ओरालो सडकमा अनियन्त्रित भएको थियो। उक्त सडकमा भारी सवारीसाधनको आवागमन निषेध गरिएको थियो।

प्रहरीले ट्रकलाई रोक्न खोजे पनि ट्रकले अवरोध तोड्दै सडकमा हिँडिरहेका तीर्थयात्री र सडकछेउका प्रसाद पसलहरूलाई ठक्कर दिएको थियो। अनियन्त्रित ट्रक मन्दिरको प्रवेशद्वार र बाहिरी पर्खालमा ठोक्किएको थियो। ठक्करका कारण प्रवेशद्वारको पर्खालको केही भाग भत्किँदा केही व्यक्ति भग्नावशेषमा समेत पुरिएका थिए।

दुर्घटनापछि प्रहरी तथा उद्धार टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको थियो। घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको छ। घाइतेमध्ये पाँचदेखि छ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

घटनामा ड्युटीमा खटिएका दुई प्रहरी कर्मचारीसमेत घाइते भएका छन्। ग्वालियरका प्रहरी अधिकारीका अनुसार प्रारम्भिक अनुसन्धानमा ट्रकमा प्राविधिक खराबी आएको हुन सक्ने देखिएको छ। यद्यपि दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन ट्रकको प्राविधिक परीक्षण गरिने भएको छ।

नवरात्रिका अवसरमा शीतला माता मन्दिरमा ठूलो सङ्ख्यामा तीर्थयात्रीहरू भेला भएका बेला दुर्घटना भएको हो। उक्त सडकमा भारी सवारीसाधन प्रवेश रोक्न प्रहरी अवरोध र चेकपोस्ट राखिएको भए पनि ट्रक कसरी त्यहाँसम्म पुग्यो भन्ने विषयमा पनि अनुसन्धान भइरहेको छ।

 घाइतेहरूको उपचार भइरहेको छ भने दुर्घटनाको कारण र सुरक्षा व्यवस्थाबारे थप अनुसन्धान जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0