२७ कार्तिक,काठमाण्डाैं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बिहीबार गृहमन्त्रालयमा दर्ज्यानी चिन्ह प्राप्त गरेपछि सम्बोधनका क्रममा नेपालीहरूको जनघनत्व बढी भएका देशहरूमा प्रहरी सहचारी (Police Attache) राख्ने विषयलाई प्राथमिकताका साथ उठाएका छन् ।
राज्यको आर्थिक विकासमा ठूलो योगदान पुर्याउने प्रवासमा रहेका नेपालीहरूको सुरक्षा र आकस्मिक परिस्थितिका लागि प्रहरी सहचारी अपरिहार्य रहेको उनको भनाइ छ, जसको कार्यान्वयनका लागि उनले सरकारसमक्ष अपेक्षा गरेका छन् ।
नेपाल प्रहरीले यसअघि पनि खाडी राष्ट्र, अमेरिका, चीन र युरोपका केही देशमा सहचारी राख्न माग गर्दै आए पनि हालसम्म भारतमा मात्र एक एसएसपी दर्जाका कर्मचारी खटिएका छन् ।
यसका साथै, आईजीपी कार्कीले प्रहरीको राशन वृद्धिको विषय पनि सम्बोधनमा उठाएका छन्, जहाँ उनले अन्य सुरक्षा निकायको तुलनामा नेपाल प्रहरीले प्राप्त गर्ने राशन असमान, असंगत र कार्य प्रकृतिअनुसार दैनिक कार्य सम्पादनका लागि आवश्यक आधारभूत पोषणको सन्दर्भमा अपर्याप्त रहेको कुरा सबैलाई अवगत रहेको बताएका छन् ।
यी प्राथमिकताका अतिरिक्त, उनले निकट भविष्यमा हुन गइरहेको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरी पूर्ण रूपमा तत्पर रहेको प्रतिबद्धता पनि व्यक्त गरे ।









प्रतिक्रिया दिनुहोस् !