२७ कार्तिक,काठमाडौं । भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझका लागि बनेको आयोगले आजबाट सेवानिवृत्त भएका प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङलाई विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको छ।
आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका छोड्न नपाउने गरी सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय भएको आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले जनाएका छन्।
आजदेखि सेवाबाट निवृत्त भएका नेपाल प्रहरीका महानिरीक्षक खापुङलाई भाद्र २३ र २४ गतेका घटनाहरूको छानबिन तथा जाँचबुझको लागि कुनै पनि समयमा यस आयोगमा उपस्थित हुनुपर्ने हुँदा आजैदेखि लागु हुने गरी उनको विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको हो।
आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न गराउनका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने र खापुङलाईसमेत जानकारी दिने निर्णय भएको प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए।
भदौ २३ र २४ को घटनाको छानबिन तथा जाँचबुझका लागि खापुङ कुनै पनि समय आयोगमा उपस्थित हुनुपर्ने भन्दै आयोगले सो निर्णय लिएको हो। आज बसेको आयोगको बैठकले आन्दोलनमा भएको क्षतिको विवरण पठाउन बाँकी भए इमेलमा वा आयोगको कार्यालयमा नै उपलब्ध गराउन पनि अनुरोध गरेको छ।









प्रतिक्रिया दिनुहोस् !