६ मंसिर,बारा । बारा ४ का निवर्तमान प्रतिनिधि सभा सदस्य एवम् पूर्व मन्त्री कृष्ण कुमार श्रेष्ठ (किसान) ले बाराको सिमरामा घटेको हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। उनले घाइतेहरूको उपचारको उचित व्यवस्था गर्नका लागि सरकारसँग कडा मागसमेत गरेका छन्।
पूर्व मन्त्री श्रेष्ठले समाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै पार्टी कामको सिलसिलामा आफू काठमाडौं गएको मौका छोपी मंसिर ६ गते जितपुर सिमरा-४, औराहामा रहेको आफ्नो निजी निवासमा लुटपाट र गुण्डागर्दी शैलीमा एक व्यक्ति प्रवेश गरेको घटनाप्रति घोर भर्त्सना गरेका छन्।
उनका अनुसार सुदन गुरुङ नामका व्यक्तिले आफूलाई ‘जेन जी’ (Gen Z) को कथित नेता बताउँदै घरमा प्रवेश गरेका थिए। उनले घर पुनर्निर्माण गरिरहेका आफ्ना कर्मचारी तथा कामदारहरूलाई धम्क्याउनुका साथै, “किसान श्रेष्ठको घर फेरि जलाउँछु” र “तेरो नेतालाई जे पनि हुन सक्छ” भन्दै ज्यानको समेत धम्की दिएको पूर्व मन्त्री श्रेष्ठले स्टाटसमा उल्लेख गरेका छन्।
यसरी मंसिर २४ गते जलाइएका घर पुनर्निर्माण गर्ने कामदारलाई धम्क्याएको घटनाले स्थानीय सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न खडा गरेको छ।
’जेन जी’ को नाममा भैरहेको आतंक रोक्न माग
पूर्व मन्त्री श्रेष्ठले आफ्नो स्टाटसमा अगाडि लेखेका छन्, “यसरी ‘जेन जी’ का नाममा भैरहेको आतंक रोकी शान्ती सुरक्षाको प्रत्याभुती गराइदिन नेपाल सरकार र स्थानीय सरकारलाई अनुरोधसमेत गर्दछु।”
उनले सिमराको मंसिर ३ र ४ गतेको घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको उचित उपचारको व्यवस्था गर्न सरकारलाई दबाब दिएका छन्। साथै, आफ्नो घरमाथि भएको यो गुण्डागर्दी र धम्कीपूर्ण कार्यलाई रोक्न सरकारसँग तुरुन्त शान्ति सुरक्षाको सुनिश्चितता गर्न आग्रह गरेका छन्।









प्रतिक्रिया दिनुहोस् !