३१ असार,बारा । बाराको निजगढमा गृहमन्त्री सुदन गुरुङ र मिटरब्याजी पीडित पक्षबीच चौथो चरणको वार्ता सुरु भएको छ।
हिजो दुई चरणमा गरी करिब ५ घण्टासम्म चलेको लामो संवादमा पीडित पक्षले ६ बुँदे माग र सरकारी पक्षले ८ बुँदे निर्णय प्रस्तुत गरे पनि कुनै निष्कर्ष निस्कन नसकेपछि आज मध्यान्ह १२ बजे नै पुनः सार्थक वार्ता गर्ने तय भएको थियो।
तर, काठमाडौंबाट बार्ता का लागि आएका गृहमन्त्री गुरुङ दिनभर जसो खोलानाला, उद्योग, पर्सा राष्ट्रिय निकुञ्जको अनुगमन तथा दुधेश्वर महादेवको दर्शन जस्ता गतिविधिमा व्यस्त रहँदा निर्धारित समयभन्दा ८ घण्टा ढिलो गरी राती ८ बजेर ८ मिनेटमा मात्र दलबलसहित निजगढ नगर उद्योग वाणिज्य संघको सभाहलमा आइपुगेका हुन्।
गृहमन्त्री वार्ता छाडेर दिनभर अन्यत्रै लागेपछि न्यायको पर्खाइमा रहेका पीडितहरू सुरुमा निकै निराश बनेका थिए, तर न्याय पाउने अन्तिम आशाका साथ उनीहरू दिनभर निजगढमै डटिरहे।
राती ढिलो गरी गृहमन्त्री हलमा प्रवेश गरेसँगै पीडितहरूको मनमा केही आशा पलाएको भए पनि, वार्ताले ठोस रूप लिने र आफूहरूले न्याय पाउने कुरामा अझै पूर्ण रूपमा विश्वस्त हुन नसकेको पीडितहरूले बताएका छन्, र हाल दुवै पक्षबीच निकास निकाल्ने प्रयाससहित चौथो चरणको छलफल जारी रहेको छ।


