३१ असार,बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-६, नेपालगञ्ज रोडस्थित एक पसलबाट प्रहरीले ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नेपाली नोट र नोट छाप्न प्रयोग गरिने विभिन्न आधुनिक उपकरणसहित ६ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा बुटवलकी ३६ वर्षीया गंगा कुमारी पूर्वछाने, कास्की पोखराका किरण कृष्ण तिवारी (कृष्ण), कपिलवस्तुका संजय थारु, भक्तपुरका ४१ वर्षीय रामचन्द्र खत्री, दोलखाका ३८ वर्षीय पासाङ तामाङ र भारत पश्चिम बंगाल, सिलिगुडीका ४९ वर्षीय वासुमित्र आनन्द रहेका छन्।
उनीहरूको साथबाट प्रहरीले रु. १,००० दरका ६२२ थान नक्कली नेपाली नोट, फोटोकपी मेसिन, डेल कम्पनीको ल्यापटप, प्रिन्टर, नक्कली नोट छाप्ने कागजको एक कार्टुन, लेमिनेसन मेसिन, केमिकल, प्लास्टिक पेपर, नोट कटिङ मेसिन र ६ थान मोबाइल बरामद गरेको छ ।
पक्राउ परेका सबैजनामाथि मुद्रा सम्बन्धी कसुर मुद्दामा हिरासतमा राखी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।


