तयारीबिना वार्तामा बस्दा मिटरब्याजपीडित आक्रोशित: समस्या समाधान गर्नुको साटो मन्त्रीको ध्यान पूजाआजा र उद्योगतिर

छानबिन न्यूज
पाठक संख्या 75
1 Min Read
Oplus_16908288

३१ असार,बारा ।  बाराको निजगढमा मिटरब्याजपीडित र गृहमन्त्रीबीच लामो पर्खाइपछि सुरु भएको वार्ता केही समयका लागि स्थगित भएसँगै पीडितहरूमा आक्रोश र अन्योल थपिएको छ।

तोकिएको समयभन्दा ८ घण्टा ढिलो गरी सुरु भएको संवाद निष्कर्षमा नपुग्दै गृहमन्त्री वार्तास्थलबाट बाहिरिएका छन् भने पीडितपक्षले हिजो नै बुझाएको ६ बुँदे मागसहितको मस्यौदालाई थप कानुनी अध्ययनका लागि भन्दै भर्खरै मात्र मुख्यसचिवकहाँ पठाइएको छ।

मस्यौदामा कानुनी अड्चन रहेको भन्दै गृहमन्त्रीले दीर्घकालीन उपाय खोज्नुपर्ने सुझाव दिए पनि, हिजो बुझाइएको मस्यौदालाई दिनभर रोकेर राख्नु र बिनाकुनै तयारी वार्तामा बस्नुले सरकारको नियतमाथि गम्भीर प्रश्न उठाएको एक मिटरब्याज पीडितले बताएका छन्।

मंगलबार विशेष गरी यही समस्या सुल्झाउन बारा आइपुगेका गृहमन्त्रीले दिनभर उद्योग, खोला, निकुञ्ज आरक्षको अवलोकन र पूजाआजालाई प्राथमिकता दिएर पीडितको मुद्दालाई ओझेलमा पारेको र ढिलो गरी वार्ताको स्वाङ मात्र रचेको आरोप पीडितहरूको छ।

यति हुँदाहुँदै पनि आन्दोलनरत  पैदल मार्चमा रहेका मिटरब्याज पीडितहरू सरकारले ढिलोचाँडो आफ्ना माग सम्बोधन गरी न्याय दिनेमा अझै पनि झिनो आशा लिएर पर्खिरहेका छन्।

प्रतिक्रिया
शेयर