६ बैसाख, बारा । बिरगञ्जको सिर्सियास्थित एकीकृत जाँच चौकी (आईसीपी) बाट भन्सार जाँचपास भई निस्किएका भारतीय नम्बरका मालबाहक ट्रकहरू सिधै गन्तव्यतर्फ जानुपर्नेमा सडकमै ट्राफिक प्रहरी र बिचौलियाको अवैध असुलीको चपेटामा पर्ने गरेका छन्।
आईसीपीबाट निस्किएको करिब एक किलोमिटर दूरीमा रहेको ड्राइपोर्ट अगाडिको ट्राफिक प्रहरी पोस्टले पुनः जाँचको नाममा भारतीय गाडीहरूसँग मोटो रकम असुल्ने गरेको पाइएको छ ।
जहाँ चालकसँग सिधै पैसा नलिई बिचौलियाले पहिले नै फोनमार्फत वा मोटरसाइकलमा आएर गाडी नम्बर टिपाउने र सोही आधारमा लेनदेन मिलाउने सेटिङ चल्ने गरेको छ।
मधेस प्रदेशका डिआईजीले शुक्रबार मात्रै इमानदारीपूर्वक काम गर्न ट्राफिकलाई ब्रिफिङ गरे पनि त्यसको धज्जी उडाउँदै वीरगञ्जको पावर हाउसस्थित अस्थायी ट्राफिक पोस्टले समेत जाँचकै नाममा प्रतिगाडी १०० देखि २०० रुपैयाँसम्म अवैध असुली गरिरहेको चालकहरूले गुनासो गरेका छन्।
यसै विषयमा पावर हाउस पोस्टका इन्चार्जलाई 9846951325 मा सम्पर्क गर्दा मदिराले मातेका व्यक्तिले फोन उठाएका असई इन्द्रबहादुर मगरलाई आईसीपीका तीनवटा सुरक्षा घेरा पार गरेर आएका गाडीलाई किन दुःख दिएको भनी प्रश्न गर्दा उल्टै गैरजिम्मेवार र अभद्र जवाफ दिएर आफ्नो व्यवहारले प्रहरी प्रशासनकै बदनाम गराएका छन्।
