सीमामा ‘सेटिङ’ को साम्राज्य: आन्ध्रको विषाक्त माछादेखि लत्ताकपडासम्मको तस्करी, चुनावको मौका छोपेर राज्यको आँखा छल्ने खेल

छानबिन न्यूज
पाठक संख्या 148
3 Min Read
Oplus_16908288

२८ माघ,बारा । सरकार र सुरक्षा निकायको ध्यान फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा केन्द्रित भइरहँदा बारा जिल्लाका सीमावर्ती नाकाहरूबाट व्यापक रूपमा माछा र अन्य वस्तुको तस्करी भइरहेको पाइएको छ ।

विशेषगरी भारतको आन्ध्र प्रदेशबाट ‘फर्माेलिन’ नामक घातक रसायन प्रयोग गरी ल्याइएका माछाहरू नेपाली बजारमा निर्बाध भित्रिरहेका छन् ।

फर्माेलिन खासगरी औद्योगिक प्रयोजन, शव संरक्षण (Embalming) र कीटाणुनाशकका रूपमा प्रयोग गरिने भए तापनि माछालाई लामो समयसम्म नकुहिने, ताजा देखिने र कडा बनाइराख्न यसको प्रयोग गरिन्छ ।

भारतीय बजार रक्सौल र घोडासहन हुँदै नेपाली तस्कर समूहका नाइके भनिएका बारा बरियमरपुरका सियाराम कुश्वाहाको सेटिङमा यी माछाहरू काठमाडौँ लगायतका मुख्य सहरहरूमा पुग्ने गरेका छन् ।

कुश्वाहाले सीमामा खटिने सुरक्षा युनिटका इन्चार्ज र क्वारेन्टाइनका कर्मचारीहरूसँग ‘सेटिङ’ मिलाएर माछा मात्र नभई कपडा, हार्डवेयर, खाद्यान्न, र मोबाइल पार्ट्सको समेत तस्करी गराउने गरेको स्थानीयको आरोप छ ।

बाराका कचोर्वा, सिम्रौनगढ, मटिअर्वा र पिपरपाती लगायतका नाकाहरूबाट प्रहरीकै मिलेमतोमा यी अस्वस्थकर माछा भित्रिने गरेका हुन् । नेपाली माछा व्यवसायीहरूका अनुसार नेपालमा उत्पादन लागत बढी हुने र सरकारले किसानलाई पर्याप्त अनुदान दिन नसकेका कारण भारतीय सस्तो र विषाक्त माछाले बजार ओगटेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी विजयराज पंडितले यसबारे जानकारी नभएको र निगरानी बढाएको दाबी गरे पनि व्यवसायीहरू भने सुरक्षाकर्मीकै इमानदारितामाथि प्रश्न उठाउँछन् ।

​यस सन्दर्भमा एक चिकित्सकका अनुसार, “फर्माेलिन (Formaldehyde) एक प्रकारको रंगहीन र तीखो गन्धयुक्त ग्यासको जलीय घोल हो, जुन मानव स्वास्थ्यका लागि अत्यन्तै घातक हुन्छ; यसको थोरै मात्राले पनि तत्कालै आँखा, नाक र घाँटी पोल्ने, खोकी लाग्ने र छाती भारी हुने समस्या निम्त्याउँछ भने यस्तो विषाक्त माछा निरन्तर सेवन गर्दा पेट दुख्ने, बान्ता हुने र आन्द्रामा गम्भीर चोट लाग्न सक्छ ।

दीर्घकालीन रूपमा फर्माेलिनले कलेजो र मिर्गौलालाई पूर्ण रूपमा क्षति पुर्‍याउनुका साथै मानव शरीरको डीएनए (DNA) संरचनामै परिवर्तन ल्याई नाक, घाँटी र रगतको क्यान्सर (Leukemia) गराउने चिकित्सा विज्ञानले पुष्टि गरेको छ ।

माछालाई ताजा देखाउन प्रयोग गरिने यो रसायनले गर्भवती महिलाको गर्भमा रहेको बच्चालाई अपाङ्ग बनाउने र स्नायु प्रणालीमा गम्भीर असर पुर्‍याउने भएकाले उपभोक्ताहरूले सस्तो मूल्यको लोभमा परेर आफ्नो र परिवारको जीवन नै जोखिममा पारिरहेका छन् ।

त्यसैले सिमानामा कडा प्राविधिक परीक्षण र सुरक्षा निकायको इमानदारिता नभएसम्म नेपालीको भान्छामा पुग्ने यस्ता विषालु माछाले जनस्वास्थ्यमा भयावह स्थिति सिर्जना गर्ने निश्चित छ ।”

यसैबिच मंगलबार ईलाका प्रहरी कार्यालय निजगढले कुश्वाहाकाे पिकप गाडी तामागढिबाट नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकाे छ ।

Oplus_16908288
प्रतिक्रिया
शेयर