रौतहटको राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

छानबिन न्यूज
पाठक संख्या 57
1 Min Read
Oplus_16908288

ईर्साद अन्सारी

१९ असार,काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।

शुक्रबार विशेष अदालतमा तत्कालीन निमित्त प्रशासकीय अधिकृत बैजु ठाकुरसहित ४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।

उनका अनुसार ठाकुरसहित नगरपालिकाका तत्कालीन इन्जिनियर मोहम्मद शाह फैसल, विद्यालयका तत्कालीन प्रधानाध्यापक विजयकान्त मिश्र र लेखापाल शेख जहिरविरुद्ध मुद्दा दायर गरिएको हो ।

राजापुर नगरपालिका–५ स्थित जनता नमुना माध्यमिक विद्यालयमा प्रि–स्कुल ब्लकको ८ कोठे भवन निर्माण गर्दा भ्रष्टाचार गरेको ठहरसहित आयोगले मुद्दा दर्ता गरेको हो । अभियोगपत्रमा उनीहरूविरुद्ध जनही ११ लाख १० हजार ११४ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

आयोगका अनुसार भवन निर्माणको लागत अनुमान ९७ लाख ३७ हजार ९९४ रुपैयाँ रहेकोमा भौतिक संरचना निर्माण समितिले संशोधन गरी १ करोड ५ लाख ७७ हजार ५९६ रुपैयाँ हुने गरी निर्माण कार्य अघि बढाएको थियो ।

लागत अनुमानभन्दा ११ लाख १० हजार ११४ रुपैयाँ बढी खर्च भएको बिलभर्पाइ बनाएर समितिले भुक्तानी लिएको पाइएको आयोगले दाबी गरेको छ ।

प्रतिक्रिया
शेयर