कोल्हवी नगरपालिकाको १६औँ नगरसभा सम्पन्न: आगामी आर्थिक वर्षका लागि ७१ करोड ६६ लाखको बजेट पारित

छानबिन न्यूज
पाठक संख्या 45
2 Min Read

१७ असार,बारा ।  बाराको कोल्हवी नगरपालिकाको १६औँ नगरसभाको दोस्रो बैठक नगर प्रमुख रामप्रसाद चौधरीको अध्यक्षतामा “आधुनिक कृषि, पर्यटन र औद्योगिक ग्रामको स्थापना, समुन्नत कोल्हवी हाम्रो चाहना” भन्ने मूल नाराका साथ नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ।

उक्त नगरसभाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ७१ करोड ६६ लाख १९ हजार रुपैयाँ बराबरको अनुमानित बजेट, वार्षिक नीति तथा कार्यक्रम र सम्बन्धित प्रस्तावहरू जनप्रतिनिधिहरूको व्यापक छलफल एवं प्राप्त महत्वपूर्ण सुझावहरूलाई समेट्दै सर्वसम्मत रूपमा पारित गरी कार्यान्वयनका लागि स्वीकृति दिएको छ।

यस बजेट तथा नीति-कार्यक्रममा कृषि उत्पादन वृद्धि, सामूहिक खेती, कृषि यान्त्रीकरण, सिँचाइ विस्तार, कृषि सडक, संकलन केन्द्र तथा चिस्यान केन्द्रको स्थापना जस्ता कृषिको आधुनिकीकरणका योजनाहरूलाई विशेष प्राथमिकता दिइएको छ भने धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने र साना तथा घरेलु उद्योग एवं उद्यमशीलता विकासमार्फत रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ।

सामुदायिक विद्यालयको गुणस्तर सुधार, प्रविधिमैत्री शिक्षण, स्वास्थ्य सेवाको पहुँच विस्तार, मातृ-शिशु स्वास्थ्य, भौतिक पूर्वाधार निर्माण (सडक, नाला, खानेपानी, विद्युत्), लक्षित वर्ग (महिला, दलित, आदिवासी जनजाति, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति) को सशक्तीकरण, वातावरण संरक्षण, विपद् व्यवस्थापन र डिजिटल सुशासन जस्ता बहुआयामिक विषयहरूलाई पनि बजेटमा विशेष ध्यान दिइएको छ।

नगरसभाको यसै बैठकमा नगर प्रमुख रामप्रसाद चौधरीका पूजनीय पिता नन्देश्वर चौधरीको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो भने कार्यक्रममा उपप्रमुख लक्ष्मीकुमारी चौधरी, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, नगरसभा सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृत, कर्मचारी तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

शिव पौडेलद्वारा सञ्चालित सो नगरसभा भव्य रूपमा सम्पन्न भएसँगै नगरपालिकाले स्वीकृत बजेट, नीति तथा कार्यक्रमलाई आगामी आर्थिक वर्षदेखि पूर्ण र प्रभावकारी रूपमा कार्यान्वयनमा लैजाने दृढ प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया
शेयर