ईर्साद अन्सारी
२ चैत,काठमाण्डाैं । सप्तरी २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका रामजी यादवसँग पराजित भएसँगै जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्।
२०७९ को निर्वाचनमा राष्ट्रिय दल बन्दै प्रत्यक्षमा आफैँले चुनाव जिते पनि २०८२ फागुन २१ को निर्वाचनमा पार्टीले एक सिट पनि प्राप्त गर्न नसकेपछि र समानुपातिकतर्फ समेत थ्रेसहोल्ड कटाउन असफल भएपछि राउतले यस्तो निर्णय लिएका हुन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले आफू संसदीय पदको राजनीतिबाट टाढा रहे पनि ‘संघर्षको राजनीति’ जारी राख्ने र पार्टीलाई आवश्यकता रहेसम्म नेतृत्व दिँदै आगामी स्थानीय तथा प्रदेश निर्वाचनको तयारीमा केन्द्रित हुने स्पष्ट पारेका छन्।
राजनीतिबाट हराएको नभई जनताको सेवा, अधिकार र पहिचानको लडाइँमा सदैव मोर्चामा खडा हुने प्रतिबद्धता जनाउँदै उनले आफू व्यक्तिगत इच्छा विपरीत दुई पटक संसदीय निर्वाचन लडेको र सुरुमा पार्टी अध्यक्ष बन्न अरू साथीहरूलाई आग्रह गर्दा नमानेपछि बाध्य भएर आफैँले नेतृत्व सम्हाल्नुपरेको जिकिर समेत गरेका छन्।
