१३ जेठ,काठमाण्डाैं । विश्व प्रेस काउन्सिल (डब्लुएपिसी)ले जनआस्था साप्ताहिक र जनआस्था डटकमका प्रधानसम्पादक/अध्यक्ष किशोर श्रेष्ठमाथि गरिएको प्रहरी निगरानी, मानसिक यातना र समाचारको स्रोत खुलाउन दिइएको दबाबको कडा निन्दा गरेको छ।
काउन्सिलले एक विज्ञप्ति जारी गर्दै सरकारको आलोचनात्मक र खबरदारीपूर्ण समाचार लेखेकै कारण प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष तथा विश्व प्रेस काउन्सिलका उपाध्यक्ष समेत रहेका पत्रकार श्रेष्ठलाई त्रास देखाएर प्रतिशोधपूर्ण व्यवहार गरिएको भन्दै उक्त कार्य लोकतान्त्रिक मूल्य र पत्रकारिताको अन्तर्राष्ट्रिय मापदण्डविपरित रहेको ठहर गरेको छ।
काउन्सिलका अध्यक्ष डेभिड ओमवोयोले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारशीला भएको र समाचार लेखेकै कारण कुनै पनि पत्रकारलाई डर, धम्की वा मानसिक दबाब दिनु पूर्णतः गलत भएको बताउँदै नेपालका सरोकारवाला निकायहरूलाई पत्रकार श्रेष्ठको सुरक्षा सुनिश्चित गर्न र भयरहित पत्रकारिताको वातावरण निर्माण गर्न आग्रह गरेका छन ।
समाचारको स्रोत खुलाउन दबाब दिने कार्यले प्रेस स्वतन्त्रता र स्रोत सुरक्षाको मर्ममाथि गम्भीर प्रहार गरेको निष्कर्ष निकाल्दै काउन्सिलले यस्ता हस्तक्षेपकारी कार्य तत्काल बन्द गरी पत्रकारलाई बिना कुनै दबाब समाचार लेख्न दिन जोड दिएको छ भने यसअघि नेपाल पत्रकार महासंघसहित विभिन्न पत्रकार संगठनहरुले पनि श्रेष्ठमाथि गरिएको ‘मिडिया ट्रायल’ प्रति विरोध जनाउँदै प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारको ध्यानाकर्षण गराइसकेका छन्।

