सिरहामा मोटरसाइकल मर्मतको विवादमा दुई पक्षबीच झडप, ६ जना घाइते

छानबिन न्यूज
पाठक संख्या 75
1 Min Read
Oplus_16908288

७ चैत,सिरहा । सिरहा नगरपालिका–१२ सारसर क्षेत्रमा मोटरसाइकल मर्मतको पैसा तिर्ने विषयमा विवाद हुँदा दुई समूहबीच भएको झडपमा ६ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार चैत ६ गते अपराह्न करिब ४:५० बजे स्थानीय सलमान मियाँ र हासिम दफाली पक्षबीच विवाद चर्किएर कुटपिटको रूप लिएको हो। घटनाको जानकारी पाउनासाथ प्रहरी निरीक्षक गजेन्द्र नारायण रायको कमाण्डमा खटिएको टोलीले स्थिति नियन्त्रणमा लिएको थियो।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालका अनुसार झडपमा सलमान पक्षका ४ र हासिम पक्षका २ जना घाइते भएका छन्।

घाइते हुनेहरूमा सलमान पक्षका ४० वर्षीया भुटनी खातुन, ३५ वर्षीय रहमद दफाली, ५८ वर्षीय इरफान मियाँ र २६ वर्षीय लालबाबु मियाँ रहेका छन्। त्यस्तै, हासिम पक्षका १९ वर्षीय अरमान हुसेन र आरिफ दफाली घाइते भएका छन्।

घाइतेमध्ये टाउको र हातमा गम्भीर चोट लागेकी भुटनी खातुनलाई थप उपचारका लागि विराटनगर पठाइएको छ भने अन्यको प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको छ। प्रहरीले घटनामा संलग्नहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया
शेयर