२७ फागुन,काठमाण्डाैं । नेपाल वायु सेवा निगमले अमेरिका–इरान तनावका कारण दुबई विमानस्थलमा रोकिएका यात्रुहरूको उद्धारका लागि आज राति ११:१५ बजे वाइडबडी विमानमार्फत ‘स्पेशल फ्लाइट’ (विशेष उडान) गर्ने भएको छ।
निगमका कार्यकारी निर्देशक अमृतमान श्रेष्ठका अनुसार १२ दिनपछि हुन लागेको यो विशेष उडान (आरए २२९) ले काठमाडौँबाट करिब २७० देखि २८० यात्रु दुबई पुर्याउनेछ भने दुबईमा रोकिएका यात्रुहरूलाई लिएर बिहीबार बिहान ४:१० बजे (आरए २३०) काठमाडौँ फिर्ता हुनेछ।
‘पहिलो आउनेलाई पहिलो प्राथमिकता’ को आधारमा गरिने यस उडानमा विशेषगरी गत २८ फेब्रुअरीदेखि ९ मार्चसम्म टिकट लिएर पनि यात्रा गर्न नपाएका यात्रुहरूलाई समावेश गरिनेछ। निगमले ती यात्रुहरूलाई आफ्नो टिकट पुनः प्रमाणित गराई यात्रा गर्न अनुरोध गर्दै यो उडान मुख्यतया दुबईमा अलपत्र परेका नेपालीहरूलाई स्वदेश फिर्ता ल्याउने उद्देश्यले आयोजना गरिएको स्पष्ट पारेको छ।
