कपिलवस्तुको महाराजगन्जमा धार्मिक तनावपछि कर्फ्यु जारी

छानबिन न्यूज
पाठक संख्या 110
1 Min Read
Oplus_16908288

७ चैत,बुटवल । कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा नम्बर २ र ३ को सीमावर्ती क्षेत्रमा मुस्लिम समुदायले ईदको नमाज पढिरहेका बेला हिन्दु समुदायले दुर्गा पूजाको भजन ठूलो स्वरमा बजाएपछि सुरु भएको विवादले उग्र रूप लिँदा प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।

भजनको आवाज घटाउने विषयमा दुई पक्षबीच भएको भनाभन झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ७ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो भने उक्त घटनामा प्रहरी र एक बालकसहित ६ जना घाइते भएका छन्।

अवस्था थप बिग्रन नदिन निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले दिउँसो २ बजेदेखि लागू हुने गरी पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगन्ज चोक, उत्तरमा महाराजगन्ज बजार र दक्षिणमा हर्दौना क्षेत्रसम्मको सीमा तोकेर कर्फ्यु लगाउनुभएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोष आचार्यले हाल सुरक्षाकर्मीको बाक्लो उपस्थितिबीच स्थिति नियन्त्रणमा रहेको जानकारी दिँदै दुवै समुदायलाई संयमता अपनाउन र थप उत्तेजना नफैलाउन आग्रह गर्नुभएको छ।

प्रतिक्रिया
शेयर