१८ असार,बारा । मूल्य घट्ने अनुमान गर्दै पेट्रोलियम व्यवसायीहरूले मंगलबार नेपाल आयल निगमको डिपोबाट तेल नउठाउँदा बुधबार बिहानदेखि दिनभर देशभर इन्धन आपूर्ति असहज बनेपछि सरकारले अत्यावश्यक पेट्रोलियम पदार्थको आपूर्तिमा अवरोध गर्ने पम्पहरूलाई कडा कारबाही गर्ने कानुनी आधार तयार पारेको छ।
आपूर्ति असहज बनाउने व्यवसायीलाई कारबाही गर्ने कानुनी व्यवस्था नभएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बुधबार साँझ नै नयाँ कानुनी व्यवस्था गर्न निर्देशन दिएकी थिइन्ज ।
सलगत्तै बसेको निगमको सञ्चालक समिति बैठकले ‘पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, ०७५’ को दफा २९ घ (१) मा संशोधन गर्दै ‘बिक्रेताले नोजल सुक्खा (ड्राई) गरी पेट्रोलियम पदार्थ नपाउने स्थिति सिर्जना गर्न नहुने’ व्यवस्था थप गरेको हो।
यस नयाँ नियमानुसार कुनै पनि पेट्रोलपम्प उचित कारणविना बन्द गरेको भेटिएमा कडा कारबाही सुनिश्चित गर्दै पहिलो पटक कसुर गरे ३ लाख रुपैयाँ जरिवाना र ५ दिनसम्म डिपोबाट इन्धन आपूर्ति रोक्का, दोस्रो पटक ६ लाख रुपैयाँ जरिवाना र १० दिन आपूर्ति बन्द, तथा तेस्रो पटक पनि सोही कसुर दोहोर्याएमा १० लाख रुपैयाँसम्म जरिवाना र १५ दिनसम्म आपूर्ति बन्द गर्ने कानुनी व्यवस्था लागू गरिएको छ।
