मूल्य घट्नासाथ बाराका पेट्रोल पम्पहरू बन्द, सिँचाइ गर्न नपाउँदा किसान मर्कामा

छानबिन न्यूज
पाठक संख्या 176
1 Min Read

१७ असार,बारा ।  नेपाल आयल निगम लिमिटेडले मङ्गलवार राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्यमा भारी कटौती गरेपछि बाराका पेट्रोल पम्पहरूले आज बिहानैदेखि सेवा ठप्प पारेका छन्।

निगमले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल तथा मट्टितेलमा ३० रुपैयाँ, हवाई इन्धनमा ४० रुपैयाँ र खाना पकाउने एलपी ग्याँसमा प्रतिसिलिन्डर १०० रुपैयाँ मूल्य घटाए पनि पम्प सञ्चालकहरूले उपभोक्तालाई तेल दिन अस्वीकार गर्दै पम्प बन्द गरेका हुन्।

बाराको सदरमुकाम कलैयासहित कोल्हबी, बरियारपुर लगायतका ग्रामीण क्षेत्रका पेट्रोल पम्पहरू समेत बन्द हुँदा स्थानीय उपभोक्ताहरू चरम मर्कामा परेका छन्। हाल खेतीपातीको मुख्य सिजन रहेको र सरकारले नहरमा समेत पानी उपलब्ध गराउन नसकेको अवस्थामा, पम्पिङसेट चलाउन आवश्यक डिजेल नपाउँदा किसानहरू खेतमा सिँचाइ गर्नबाट बञ्चित भएका छन्।

इन्धनको मूल्य बढ्दा सहजै बिक्री गर्ने तर मूल्य घट्नासाथ कृत्रिम अभाव सिर्जना गरेर सास्ती दिने पम्प सञ्चालकहरूको गैरजिम्मेवार प्रवृत्तिका विरुद्ध स्थानीय उपभोक्ताहरूले तीव्र आक्रोश पोखेका छन्।

खेतीको समयमा किसानलाई थप संकटमा पार्ने यस्तो बदमासी र कालोबजारीतर्फ सम्बन्धित नियामक निकायको अविलम्ब ध्यान जानु जरुरी देखिन्छ।

प्रतिक्रिया
शेयर