बजेटअघि सूचना चुहाएर भन्सार सेटिङमा भित्र्याइएका ७७५ वटा विद्युतीय गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा

छानबिन न्यूज
पाठक संख्या 48
2 Min Read
Oplus_16908288

ईर्साद अन्सारी

२१ जेठ,काठमाण्डाैं । जेठ १५ को नयाँ बजेट भाषणमार्फत करको दर बढ्ने अति गोप्य सूचना पहिल्यै प्राप्त गरी भन्सार सेटिङमार्फत नेपाल भित्र्याइएका ७७५ वटा नम्बर प्लेट नभएका विद्युतीय गाडी (इभी) लाई सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाका आधारमा नेपाल प्रहरीसँगको समन्वयमा सशस्त्र प्रहरीले मुस्ताङको कोरोला नाका, जोमसोम, पर्वतको कुस्मा, कास्कीको हेम्जा र नुवाकोटको पासाङल्हामु सडकखण्डबाट बुधबार राति र बिहीबार बिहान यी गाडीहरू नियन्त्रणमा लिएको हो, जसमा अधिकांश गाडीहरू नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक आबद्ध रहेको चर्चित अटो ब्रान्ड ‘बिवाईडी’ का रहेका छन् ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करका दरहरू हेरफेर गर्दैछन् भन्ने सूचनाका आधारमा चिनियाँ भन्सारबाट रिलिज भएर नेपाली यार्डमा भौतिक रूपमा आइपुग्नु अगावै जेठ १३ र १४ गते रातारात कागजी सेटिङमा कर भुक्तानी गरी भन्सार पास गराइएको यो प्रकरणलाई गृह मन्त्रालयले समेत शंकास्पद मान्दै छानबिनको दायरामा ल्याएको छ ।

सरकारले नयाँ बजेटमार्फत विद्युतीय सवारीमा २० प्रतिशत समान भन्सारसहित २.५ देखि १३० प्रतिशतसम्म स्वच्छ पूर्वाधार लगानी शुल्क लगाएर मूल्य वृद्धि गरेपछि, आयातकर्ताहरूले पुरानै कम करदरमा गाडी भित्र्याएर उपभोक्तालाई भने महँगो नयाँ मूल्यमा बेची करोडौँ अतिरिक्त नाफा कमाउने नियत राखेको देखिन्छ ।

सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टका अनुसार कागजातहरू हेर्दा कर छलीको आशंका गर्ने पर्याप्त ठाउँ रहेको र सम्बन्धित निकायको विस्तृत छानबिनपछि यो विषय अझ प्रष्ट हुनेछ, जसले विगतका वर्षहरूमा जस्तै बजेटअघि सूचना लिक गराएर राजस्व मार्ने अटोमोबाइल क्षेत्रको पुरानै शृङ्खलालाई पुनः उजागर गरेको छ ।

प्रतिक्रिया
शेयर