अवैध रूपमा ‘डाक्टर’ उपाधि प्रयोग गर्नेलाई तीन वर्ष जेल र तीन हजार जरिवाना हुने

छानबिन न्यूज
पाठक संख्या 80
2 Min Read
Oplus_16908288

८ वैशाख, काठमाडौं । नेपाल मेडिकल काउन्सिल र सम्बन्धित परिषद्‌मा कानुनी रूपमा दर्ता नभई आफ्नो नामको अगाडि अनाधिकृत रूपमा ‘डाक्टर’ वा ‘चिकित्सक’ उपाधि लेख्ने व्यक्तिहरूलाई तीन वर्षसम्म कैद, तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने भएको छ।

विभिन्न अस्पताल, निजी क्लिनिक, परामर्श केन्द्र तथा फेसबुक, टिकटक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमा गैर चिकित्सक स्वास्थ्यकर्मीहरू एवं अन्य असम्बन्धित व्यक्तिहरूले ‘डा.’ उपाधि प्रयोग गरी चिकित्सा अभ्यास गर्ने र औषधिको प्रेस्क्रिप्सन परामर्श लेख्दा जनस्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै काउन्सिलले बिहीबार एउटा अत्यन्त जरुरी सूचना जारी गर्दै ‘जिरो टोलरेन्स’ नीति अपनाएर कानुनी प्रक्रिया अघि बढाउने जनाएको हो।

नेपाल मेडिकल काउन्सिल ऐन, २०२० अनुसार आधुनिक चिकित्सा प्रणाली अन्तर्गत बिरामी जाँच्न, परामर्श दिन तथा एलोप्याथिक औषधि सिफारिस गर्न काउन्सिलमा दर्ता भएका चिकित्सकलाई मात्रै अधिकार रहेको स्पष्ट पार्दै काउन्सिलले स्वदेशी वा विदेशी विश्वविद्यालयको प्रमाणपत्रमा ‘डाक्टर’ लेखिएको भरमा मात्र नेपालमा स्वतन्त्र रूपमा चिकित्सकीय अभ्यास गर्न नपाइने प्रष्ट पारेको छ।

काउन्सिलमा दर्ता भएका चिकित्सक तथा सम्बन्धित परिषद् ऐनद्वारा ‘चिकित्सक’ उपाधि प्राप्त गरेका बाहेक अन्य स्वास्थ्यकर्मी वा व्यक्तिले नामको अगाडि ‘डाक्टर’ प्रयोग गरेको पाइएमा साइनबोर्ड, प्रेस्क्रिप्सन प्याड, भिजिटिङ कार्ड तथा सम्पूर्ण सामाजिक सञ्जालबाट १५ दिनभित्र उक्त उपाधि हटाउन निर्देशन दिइएको छ।

काउन्सिलका निमित्त रजिष्ट्रार डा. दीपेन्द्र पाण्डेका अनुसार उक्त १५ दिनको समयसीमा सकिएलगत्तै काउन्सिलको विशेष अनुगमन टोलीले स्थलगत तथा डिजिटल माध्यमबाट निगरानी गर्नेछ र अवैध रूपमा ‘डा’ उपाधि प्रयोग गरेको वा सो उपाधिको आडमा बिरामी जाँच्ने तथा औषधि सिफारिस गरेको पाइएमा नेपाल मेडिकल काउन्सिल ऐन, २०२० को दफा २६ र २७ अनुसार मुद्दा चलाएर कानुनी कारबाही गरिनेछ।

प्रतिक्रिया
शेयर