वीरगंजमा निर्वाचन लक्षित धार्मिक द्वन्द्व फैलाउन खोज्ने समूह पक्राउ

छानबिन न्यूज
पाठक संख्या 189
1 Min Read

२० फागुन,पर्सा ।  निर्वाचन सुरक्षामा खटिएको सेनाले वीरगंजमा प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी धार्मिक द्वन्द्व निम्त्याउन खोज्ने र आतंक फैलाउने एउटा समूहलाई बन्दोबस्तीका सामानसहित नियन्त्रणमा लिएको छ।

विशेषगरी वीरगंज महानगरपालिका-१६ स्थित मस्जिदमा सुँगुरको टाउको फाल्ने र पटाका प्रयोग गरेर स्थानीयलाई आतंकित बनाउने योजना बनाएको सूचना प्राप्त भएपछि उपसेनानी विकाश मरहट्टाको कमाण्डमा खटिएको टोली सक्रिय भएको थियो।

सुरक्षाकर्मीको टोलीले वीरगंज-१६ छप्कैया चोकबाट पिछा गर्दै राति १२:३० देखि २:३० बजेको समयमा वीरगंज-१६ का १६ वर्षीय कृष्ण यादव, इनरुवाका १८ वर्षीय रोहित पटेल र १६ वर्षीय अवजित यादवलाई नियन्त्रणमा लिन सफल भएको हो।

पक्राउ परेका उनीहरूको साथबाट ठूलो मात्रामा सुतली बम, मोबाइल, पावर बैंक, चार्जर, सेतो रंगको तार र सुँगुरको टाउको बरामद गरिएको छ। नियन्त्रणमा लिइएका व्यक्ति र बरामद सामानहरूलाई आवश्यक कारबाहीका लागि पर्सा प्रहरीमा बुझाइसकिएको छ।

प्रतिक्रिया
शेयर