आज श्रीपञ्चमी: देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

छानबिन न्यूज
पाठक संख्या 202
1 Min Read
Oplus_16908288

९ माघ,बारा । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमी आज देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी मनाइँदैछ ।

चन्द्रमाजस्तो गोरो वर्ण भएकी, हातमा वीणा र पुस्तक लिएकी सरस्वतीको पूजा गरेमा विद्या र बुद्धि बढ्ने धार्मिक विश्वासका साथ आज देशभरका सरस्वती मन्दिरहरूमा श्रद्धालु एवं विद्यार्थीहरूको विशेष भीड लागेको छ।

विशेषगरी अक्षरारम्भका लागि निकै शुभ मानिने यस दिन साना बालबालिकालाई शिक्षा आरम्भ गराउने, नाक-कान छेड्ने तथा साहित्यकार, कलाकार र पत्रकारहरूले आफ्ना साधनको पूजा गर्ने प्रचलन रहेको छ ।

ऋग्वेदमा वाग्देवीका रूपमा प्रसिद्ध ब्रह्मायणीको उपासनाले ज्ञान र सद्बुद्धि प्राप्त हुने जनविश्वास छ भने गान्धर्व पुराणमा आजका दिन विद्यारम्भ गरे सर्वसिद्धि प्राप्त हुने उल्लेख छ।

सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतुको आगमन हुने यस दिनलाई विवाह, व्रतबन्ध र बेलविवाह जस्ता शुभ कार्यका लागि बिनासाइत उत्तम मानिने भए तापनि यस वर्ष शुक्र अस्त भएकाले यस्ता शुभ कर्महरू भने वर्जित गरिएको छ।

उपत्यकाका स्वयम्भू, मैतीदेवी, नीलसरस्वती लगायत मुलुकभरका विभिन्न शक्तिपीठमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ भने सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोई निलेमा चेतनाको ज्योति पाइने विश्वास समेत रहिआएको छ ।

प्रतिक्रिया
शेयर