२९ बैसाख,बारा । पर्साको पकाहामानपुर गाउँपालिका–२ स्थायी घर भई हाल वीरगञ्ज महानगरपालिका–११ श्रीपुर बस्ने १५ वर्षीय शन्नी पटेलले सोमबार राति आत्महत्या गरेका छन्।
वीरगञ्जको पिपरास्थित नरसिंह माध्यमिक विद्यालयमा अध्ययनरत पटेलले सोमबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजापछि मानसिक तनावमा परेर यस्तो अप्रत्याशित कदम चालेको प्रहरीको प्रारम्भिक अनुमान छ।
पारिवारिक स्रोतका अनुसार नतिजा आएदेखि नै अत्यन्तै निराश देखिएका उनलाई राति करिब ११:३० बजे परिवारका सदस्यले सम्झाइबुझाइ गरिरहेकै अवस्थामा उनी अचानक दौडिएर आफ्नो कोठामा पसी फलामको ढोका थुनेका थिए।
ढोका फोडेर भित्र पस्दा उनलाई ओछ्यानको तन्नाको पासो लगाएको अवस्थामा फेला पारिएको थियो। घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले घटनास्थल पुगेर आवश्यक मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाएको छ भने यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
हरेक वर्ष नतिजापछि देखिने यस्ता दुःखद घटनालाई न्यूनीकरण गर्न शिक्षाविद्हरूले परीक्षालाई जीवनको अन्तिम मापन नमान्न र विद्यार्थीलाई मानसिक दबाब नदिन अभिभावकहरूमा आग्रह गर्दै आएका छन्।
