जनकपुरदेखि वीरगञ्जसम्म होलीको उल्लास: उमङ्गमा डुब्यो मधेश प्रदेश

छानबिन न्यूज
पाठक संख्या 95
2 Min Read

ईर्साद अन्सारी

२० फागुन,बारा ।  वसन्त ऋतुको आगमनसँगै असत्यमाथि सत्यको विजयको प्रतीक मानिने रङ्गहरूको महापर्व होली आज मधेश प्रदेशका प्रमुख सहरहरू जनकपुरधाम, वीरगञ्ज, कलैया लगायतका क्षेत्रमा धार्मिक परम्परा अनुसार अत्यन्तै उत्साह र उमङ्गका साथ मनाइँदैछ।

सोमबार काठमाडौँ लगायत पहाडी जिल्लाहरूमा होली मनाइएको भोलिपल्ट आज मधेशका गाउँदेखि सहरसम्म अबिर र गुलालको रङ्गमा झुमेका छन्।

विशेषगरी धार्मिक पर्यटकीय नगरी जनकपुरधाममा पन्ध्र दिने मिथिला मध्यमिक परिक्रमा समापन भई ‘अन्तरगृह’ परिक्रमा सकिएपछि मनाइने होलीको छुट्टै आध्यात्मिक महत्त्व छ।

त्रेतायुगमा भगवान राम र माता सीताको विवाहपश्चात् मिथिलामा खेलिएको रङ्गको परम्परालाई जीवन्त राख्दै यहाँका मठ–मन्दिर, जानकी मन्दिर र हनुमान गढी जस्ता क्षेत्रहरूमा साधुसन्त र स्थानीयले सामूहिक रूपमा फागु गीत (डम्फूको तालमा गाइने जोगिरा) गाउँदै होलीको सुरुवात् गरेका छन्।

​त्यसैगरी, आर्थिक नगरी वीरगञ्ज र बाराको सदरमुकाम कलैयामा पनि बिहानैदेखि युवा–युवती, बालबालिका तथा वृद्धवृद्धाहरू ‘बुरा नमानो होली है’ भन्दै एक–आपसमा शुभकामना साटासाट गरिरहेका छन्। मधेशमा होली केवल रङ्गहरूको खेल मात्र नभई सामाजिक सद्भाव, रिसराग त्याग्ने पर्व र शत्रुता भुलेर अंकमाल गर्ने अवसरको रूपमा लिइन्छ।

यहाँको परम्परामा होलीको दिन विशेष परिकारका रूपमा ‘पुवा’, ‘बौरी’ र ‘तरुआ’ जस्ता मिथिलाञ्चलका मौलिक व्यंजनहरू बनाएर पाहुनालाई सत्कार गर्ने चलन छ। धार्मिक मान्यता अनुसार होलिका दहनको भोलिपल्ट मनाइने यो पर्वले समाजमा रहेका विभेदहरूलाई मेटाउँदै भ्रातृत्वको सन्देश प्रवाह गरेको छ।

​सांस्कृतिक रूपमा यहाँका टोल–टोलमा मृदङ्ग, झ्याली र डम्फूको गुञ्जनले वातावरण संगीतमय बनेको छ, जहाँ ‘जोगिरा सररर…’ को भाकाले मौलिकता झल्काएको छ।

प्रशासनले होलीलाई मर्यादित, सुरक्षित र सभ्य बनाउन विशेष सुरक्षा योजना लागू गरेको छ, जसअन्तर्गत मदिरा सेवन गरी सवारी चलाउने र जबर्जस्ती रङ्ग दल्ने उच्छृङ्खल गतिविधिमाथि कडा निगरानी राखिएको छ।

विभिन्न सार्वजनिक स्थलहरूमा सांगीतिक कार्यक्रम र सामूहिक होली मिलन समारोहहरू आयोजना गरिएका छन्, जसले गर्दा मधेशको यो भूमि यतिबेला रङ्गीन र हर्षित देखिन्छ।

प्रतिक्रिया
शेयर