१० असार,बारा । नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणको बहानामा सुर्खेतबाट गैरकानुनी रूपमा पक्राउ गरिएको भन्दै सरकारको यस कदमविरुद्ध देशव्यापी रूपमा राजनीतिक प्रतिरोध र भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
मंगलबार साँझ गुण्डुमा बसेको केन्द्रीय सचिवालयको बैठकले सरकारको यो कदमलाई निरंकुश, प्रतिशोधपूर्ण र विभेदकारी ठहर गर्दै यसको सशक्त प्रतिवाद गर्न सम्पूर्ण पार्टी पंक्तिलाई आह्वान गरेको हो।
बिनाकुनै वस्तुपरक तथ्य र प्रमाण, केवल राजनीतिक प्रतिशोध साँध्ने कुत्सित मनसायका साथ पौडेललाई पक्राउ गरिएको दाबी गर्दै एमालेले थप अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न अनुमति दिने विशेष अदालतको आदेशप्रति समेत असहमति जनाउँदै त्यसलाई न्यायसम्मत नरहेको बताएको छ।
यस घटनाको राजनीतिक र कानुनी दुवै रूपमा दृढतापूर्वक सामना गर्ने निर्णय गर्दै एमालेले आफ्ना उपाध्यक्ष पौडेललाई बिनासर्त अविलम्ब रिहा गर्न माग गरेको छ।
