फेटा गाउँपालिकामा बेरुजुको पहाड: ३२ करोड नाघ्दा पनि आन्तरिक नियन्त्रण प्रणाली फितलो

छानबिन न्यूज
पाठक संख्या 276
1 Min Read

नरेश गुप्ता

२८ फागुन,बारा । बाराको फेटा गाउँपालिकामा आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदनअनुसार वित्तीय अनुशासनको चरम अभाव र कमजोर आन्तरिक नियन्त्रण प्रणालीका कारण बेरुजु रकम ३२ करोड ५६ लाख १८ हजार पुगेको छ।

महालेखापरीक्षकको प्रतिवेदनअनुसार उक्त आर्थिक वर्षमा ६७ करोड ४५ लाख ७१ हजार रुपैयाँको लेखापरीक्षण गरिएकोमा १ करोड ५० लाख ५० हजार थप बेरुजु देखिएको हो, जसमा असुल गर्नुपर्ने, कागजात पेस गर्नुपर्ने र नियमित गर्नुपर्ने शीर्षकहरू समावेश छन्।

अघिल्लो वर्षसम्मको ३१ करोड ५ लाख ६६ हजार रुपैयाँ बेरुजुमा चालु वर्षको रकम थपिँदा पालिकाको वित्तीय अवस्था जोखिमपूर्ण देखिएको छ भने संघीय र प्रदेश सरकारबाट प्राप्त अनुदानको ठूलो हिस्सा खर्च हुन नसकी फिर्ता भएको प्रतिवेदनले औँल्याएको छ।

गाउँपालिका अध्यक्ष रुस्तम अन्सारी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कमलेश कुमार मिश्र र लेखापाल लगायतको नेतृत्वले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिमको जिम्मेवारी बहन गर्न नसक्दा संस्थागत भ्रष्टाचार र अनियमितताको आशंका गरिएको छ।

कर्मचारी दरबन्दीको अभाव र स्रोत-साधनको अव्यवस्थित परिचालनका कारण सेवा प्रवाह समेत प्रभावित भएको उल्लेख गर्दै महालेखाले सार्वजनिक क्षेत्र लेखामान अनुसारको विवरण नखुलाइएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ।

प्रतिक्रिया
शेयर