मधेस प्रदेशमा पत्रकारिताको नयाँ क्षितिज: जनकपुरधाममा पत्रकार महासंघको प्रदेश भवन शिलान्यास

छानबिन न्यूज
पाठक संख्या 43
1 Min Read

१५ जेठ,बारा ।  लोकतन्त्रको चौथो अंग र नागरिक अधिकारको प्रवल पहरेदारका रूपमा रहेको सञ्चार क्षेत्रको गरिमालाई थप उचाइ दिँदै मधेस प्रदेशका श्रमजीवी पत्रकारहरूको साझा छहारी निर्माणको ऐतिहासिक यात्रा सुरु भएको छ।

मधेस प्रदेश सरकारका गृह, सूचना तथा सञ्चार मन्त्री फकिरा महतो र नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जाराले शुक्रवार जनकपुरधाममा आयोजित एक भव्य एवं विशेष समारोहबीच वैदिक विधिअनुसार पूजा-अर्चना गरी महासंघको प्रादेशिक कार्यालय भवनको संयुक्त रूपमा शिलान्यास गरेका छन ।

पत्रकारहरूको पेशागत हकहित, श्रमको सम्मान र सुरक्षित कार्य वातावरण निर्माणका लागि प्रदेश सरकार सधैँ प्रतिबद्ध रहेको ओजपूर्ण अभिव्यक्ति दिनुहुँदै प्रमुख अतिथि मन्त्री महतोले आफ्नै भौतिक संरचनाको जग बस्नु पत्रकारिता क्षेत्रकै लागि एक गौरवपूर्ण र सकारात्मक उपलब्धि भएको उल्लेख गरे ।

सोही अवसरमा महासंघका प्रदेश अध्यक्ष बन्जाराले प्रदेश सरकारको सहयोगी हातप्रति कृतज्ञता ज्ञापन गर्दै नयाँ भवन निर्माणपश्चात् मोफसलका पत्रकारहरूको क्षमता अभिवृद्धि, संस्थागत गतिविधि र व्यावसायिक पत्रकारिता थप मर्यादित, व्यवस्थित एवं प्रभावकारी बन्ने दृढ विश्वास व्यक्त गरेका छन ।

महासंघका मधेस प्रदेश कोषाध्यक्ष अनिल कुमार गौरवका अनुसार मधेस प्रदेश सरकारको आर्थिक वर्ष २०८२-०८३ को बजेटअन्तर्गत विनियोजित २० लाख रुपियाँको लागतमा तत्कालका लागि दुई कोठे सुविधायुक्त भवन निर्माणको लक्ष्य राखिएको यो सुखद क्षणले समग्र मधेस प्रदेशको सञ्चार जगत्मा नयाँ उत्साह र उर्जा थपेको छ।

प्रतिक्रिया
शेयर