१६ चैत,बारा । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीसहित तीन जना विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीले सामूहिक बलात्कारको मुद्दा दर्ता गरेको छ।
नाम परिवर्तित ‘भैरहवा १५’ की युवतीले गत २०८१ असोज ६ गते अध्यक्ष चौधरी, राजेश्वर चौधरी र सन्तकुमार यादवविरुद्ध किटानी जाहेरी दिएपछि यो कानूनी प्रक्रिया अघि बढेको हो।
यसअघि पीडितको गोपनीयता भंग गरेको आरोपमा साइबर अपराध मुद्दामा पक्राउ परेर पनि उन्मुक्ति पाएका चौधरीविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलले सुरुमा पूरक जाहेरी दर्ता गर्न नमानेपछि पीडित युवती जिल्ला अदालत पुगेकी थिइन्।
अदालतको कडा निर्देशनपछि मात्रै प्रहरीले मुद्दा अघि बढाएको हो भने हाल सोही प्रकरणका आरोपित सन्तकुमार यादव थुनछेकका लागि रूपन्देही कारागारमा छन्।
यता अध्यक्ष चौधरीले भने आफूले हराएकी छोरी फिर्ता ल्याउन सहयोग गर्दा उल्टै ६ महिनापछि नियोजित रूपमा झूठा मुद्दा लगाएर फसाइएको दाबी गर्दै आफू निर्दोष रहेको र कानूनी लडाइँ लड्ने बताएका छन्।
