२ चैत,काठमाण्डाैं । इन्धन र निर्माण सामग्रीमा भएको अनियन्त्रित मूल्यवृद्विका कारण निर्माण क्षेत्र धराशायी भएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले सरकारसँग ‘कन्स्ट्रक्सन होलिडे’ (निर्माण कार्य स्थगन) को माग गरेको छ।
मध्यपूर्वको युद्वका कारण डिजेल, पेट्रोल र मट्टितेलमा भएको भारी वृद्वि तथा निर्वाचनको मौका छोपी आयातकर्ताहरूले बिटुमिन जस्ता सामग्रीमा गरेको ‘कार्टेलिङ’ र कृत्रिम अभावले व्यवसायीहरूमाथि ठूलो आर्थिक भार थपिएको महासंघका महासचिव रोशन दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
निर्माण कार्यको मुख्य सिजनमै सामग्रीको मूल्य स्थिर नहुँदा पूर्वाधार निर्माणको लागत बढ्ने र यसले सरकारलाई समेत थप वित्तीय बोझ पार्ने निश्चित देखिएकाले, मूल्य समायोजनको ठोस व्यवस्था नभएसम्म देशभरका सम्पूर्ण आयोजनाहरू रोक्न महासंघ बाध्य हुने चेतावनी दिइएको छ।
साथै, महासंघले सार्वजनिक खरिद ऐन र नियमावली बमोजिम प्रत्येक आयोजनामा मूल्य वृद्वि अनुसारको मूल्य समायोजन गर्न समेत सरकारसँग जोडदार माग गरेको छ।
