१ जेठ,बारा । सत्ता गठबन्धन र आफ्नै पार्टीभित्र चुलिएको तीव्र असन्तुष्टि एवं सम्भावित ‘फ्लोर क्रस’को जोखिमका कारण मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव पूर्वनिर्धारित कार्यतालिकाबाट पछि हट्दै शुक्रबार विश्वासको मत लिन असफल भएका छन् ।
गत वैशाख २१ गते जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि संवैधानिक संकट टार्न आह्वान गरिएको प्रदेशसभाको सातौँ बैठकमा मुख्यमन्त्रीले मत लिने तयारी गरे पनि आन्तरिक किचलो र सत्ता साझेदार दलहरूबीच भागबण्डाको कुरा नमिल्दा उनी ‘ब्याक’ हुनुपरेको राजनीतिक विश्लेषण छ ।
आज बिहान ११ बजेका लागि बोलाइएको सदन मुख्यमन्त्रीको कार्यसूचीमा प्रवेश नै नगरी अन्य विजनेसमा अगाडि बढेको छ, जसले सत्ताधारी गठबन्धनभित्रको अविश्वास र गणितीय जोडघटाउ अझै परिपक्व भइनसकेको प्रष्ट पार्छ ।
नेपाली कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाका अनुसार अब आगामी जेठ ८ गते मात्रै मुख्यमन्त्रीले विश्वासको मत लिने नयाँ भाका तय गरिएको छ, तर यो एक हप्ताको समयले गठबन्धनलाई मजबुत बनाउने वा विपक्षीलाई गठबन्धन भत्काउने थप अवसर दिने हो, त्यो भने मधेशको तरल राजनीतिमा प्रतिक्षाकै विषय बनेको छ ।
