२४ बैसाख,बारा । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले विष्फोटक पदार्थ तथा निर्वाचन सम्बन्धी कसुर मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य मनोज चौधरीलाई २ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पर्सा क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका चौधरीलाई निर्वाचनको दुई दिनअघि उनि सवार गाडीमा शंकास्पद विष्फोटक पदार्थ फेला परेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो।
यसअघि पर्सा जिल्ला अदालतले चैत १२ गते चौधरीलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएकोमा उक्त आदेशलाई बदर गर्दै बिहीबार न्यायाधीश गोकर्ण डाँगी र दुर्गा प्रसाद ढुंगेलको संयुक्त इजलासले धरौटी माग गर्ने फैसला सुनाएको हो।
उच्च अदालतका सूचना अधिकारी ध्रुव सुबेदीका अनुसार सोही मुद्दाका अन्य प्रतिवादीहरू सत्यनारायण दास थारु र सुरज कार्कीको हकमा भने जिल्ला अदालतकै पुरानो आदेश सदर भएको छ।
यसअघि जिल्ला अदालतले चौधरीसँगै पक्राउ परेका थारु, कार्की र सवारी चालक सहाब आलम अन्सारीलाई धरौटीमा रिहा गर्न आदेश दिए पनि चौधरीलाई भने थुनामा पठाएको थियो, जसका विरुद्ध उनि उच्च अदालत पुगेका थिए।
उक्त मुद्दाको सुनुवाइमा चौधरीको तर्फबाट अधिवक्ता रामचन्द्र सिंह र सुधिर कुमार कर्णले बहस गरेका थिए भने सरकारको तर्फबाट उपन्यायाधिवक्ता बुधिलाल श्रेष्ठले प्रतिरक्षा गरेका थिए।
