साढे १९ करोडको अवैध क्रिप्टो कारोबार गरेको अभियोगमा बाराका मोहम्मद सेफविरुद्ध मुद्दा दायर

छानबिन न्यूज
पाठक संख्या 159
1 Min Read
Oplus_16908288

ईर्साद अन्सारी

२८ माघ,काठमाडौँ । बाराको कलैया उपमहानगरपालिका–२० का २४ वर्षीय मोहम्मद सेफविरुद्ध करिब २० करोड रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ।

गत २०८२ मंसिर १० गते काठमाडौँको भद्रकालीबाट शंकास्पद अवस्थामा पक्राउ परेका सेफको साथबाट बरामद दुई थान मोबाइल र बाइनन्स एकाउन्टको विश्लेषण गर्दा १९ करोड ८१ लाख ४९ हजार ६८१ रुपैयाँ बराबरको अवैध क्रिप्टोकरेन्सी कारोबार भएको खुलेको हो।

जिल्ला सरकारी वकील कार्यालयले दायर गरेको अभियोगपत्रमा उक्त रकम बराबरको सम्पत्ति जफत गर्न, बिगोको दोब्बर जरिवाना गर्न र कसुरको गम्भीरता अनुसार २ देखि १५ वर्षसम्म कैद सजायको मागदाबी गरिएको छ।

अनुसन्धानका क्रममा सेफले नेपाल इन्भेस्टमेन्ट मेगा, सिटिजन्स, मुक्तिनाथ विकास र सिद्धार्थ बैंकसहित १० भन्दा बढी बैंकमार्फत करोडौँको कारोबार गरेको पाइएको छ, जसमा डेबिटतर्फ ६ करोड ६१ लाख र क्रेडिटतर्फ ६ करोड ६५ लाख रुपैयाँभन्दा बढीको कारोबार देखिएको छ।

बयानका क्रममा उनले मुराध आलम नामक व्यक्तिमार्फत क्रिप्टोमा जोडिएको र मासिक २०० देखि २५० डलर पारिश्रमिक पाउने गरी डिजिटल मुद्राको खरिदबिक्रीमा संलग्न भएको स्वीकार गरेका छन्।

प्रतिक्रिया
शेयर