प्रहरीकै संरक्षणमा सीमापारिबाट दिनदहाडै तस्करी: भिडियो प्रमाणले खुल्यो पोल

छानबिन न्यूज
पाठक संख्या 66
2 Min Read
Oplus_16908288

२० बैसाख,राैतहट बंकुुल ।  रौतहटको सीमावर्ती नाकाहरूमा सुरक्षाकर्मीकै प्रत्यक्ष मिलेमतो र ‘सेटिङ’मा संगठित तस्करी भइरहेको प्रमाण भिडियोमार्फत नै सार्वजनिक हुँदा समेत स्थानीय प्रशासन र प्रहरी मूकदर्शक बनेका छन्।

शनिबार बिहान करिब ९:२२ बजे भारतको घोडासाहनबाट राजस्व छली गरी दुईवटा मोटरसाइकलमा सामान ओसारपसार भइरहेको दृश्य सानो कोपवा र नरकटियाको बीचमा क्यामेरामा कैद भएपछि सीमा सुरक्षाको धज्जी उडेको छ।

एकातिर सरकारले भारतीय बजारबाट १०० रुपैयाँभन्दा बढीको सामान ल्याउँदा पनि कडाइका साथ राजस्व असुल्ने नीति लिएको दाबी गर्छ, तर अर्कोतिर तस्करहरूसँगको मिलोमतोमा लाखौँको सामान भित्र्याउन प्रहरीकै युनिट इन्चार्जहरूले बाटो सहज बनाइदिएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्।

नरकटिया, बनजराहा, औरैया र बंकुल लगायतका नाकाहरू अहिले तस्करका मुख्य ट्रान्जिट बनेका छन्, जहाँ रातिको समयमा मात्र नभई दिनदहाडै चिनियाँ लसुन, इलेक्ट्रोनिक सामान, चिनी, कपडा र खाद्यान्नको अवैध ओसारपसार भइरहेको छ।

बिओपी सरमुजवा र मोतिपुर नरकटियाका प्रहरी प्रमुखहरूले “छानबिन भइरहेको” भन्दै गैरजिम्मेवार जवाफ दिएर पन्छिन खोज्नुले तस्करीमा प्रहरीकै संरक्षण रहेको आशंकालाई थप बलियो बनाएको छ।

स्थानीय बासिन्दा ओकील राय यादवका अनुसार यो सामान्य चोरी-पैठारी नभई प्रहरीकै संरक्षणमा चलिरहेको संगठित अपराध हो, जसमा माथिल्लो निकायको निर्देशनलाई समेत लत्याउँदै युनिट इन्चार्जहरूले तस्करहरूलाई सीमा सुम्पिएका छन्।

यसरी भिडियोमार्फत नै तथ्य बाहिरिँदा समेत दोषीमाथि कारबाही नहुनुले सीमामा राज्यको उपस्थिति कागजमा मात्र सीमित भएको र अवैध धन्दाले जरा गाडेको प्रष्ट हुन्छ।

प्रतिक्रिया
शेयर