१ असार,बारा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पपुलिजम (लोकरिझ्याइँ) ले क्षणिक रूपमा जनतालाई भ्रममा पारे पनि यसले देशलाई सही दिशा दिन नसक्ने र यसको दीर्घकालीन असर घातक हुने बताउनुभएको छ ।
एमाले प्रचार तथा प्रकाशन विभागको पद हस्तान्तरण कार्यक्रममा बोल्दै उहाँले लोकरिझ्याइँका कुराले समाजलाई दिग्भ्रमित पारिरहेको टिप्पणी गर्दै पार्टी अब शुद्धीकरण, सुदृढीकरण र पुनर्जागरण अभियानमार्फत थप एकताबद्ध र बलियो भएर अघि बढ्ने स्पष्ट पार्नुभयो ।
चुनावमा पार्टीको विपक्षमा जनमत प्रकट भएको स्वीकार गर्दै महासचिव पोखरेलले जनतासँगको सम्बन्ध कमजोर भएकाले व्यापक सुधारसहित अब एमाले जनतासँग प्रत्यक्ष जोडिएर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
सोही कार्यक्रममा प्रचार विभागका पूर्वप्रमुख राजेन्द्र गौतमले वर्तमान प्रमुख निरज आचार्यलाई कार्यभार हस्तान्तरण गर्नुभएको थियो भने पूर्वप्रमुखहरू सूर्य थापा र मीनबहादुर शाही लगायतको समेत उपस्थिति रहेको थियो ।
