ईर्साद अन्सारी
१ असार,जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अघिल्लो वर्षको तुलनामा करिब ६ अर्ब रुपैयाँले कम अर्थात् कुल ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
अर्थमन्त्री युवराज भट्टराईले प्रदेशसभामा प्रस्तुत गरेको उक्त बजेटमा चालुतर्फ कुल विनियोजनको ३५.५३ प्रतिशत (१४ अर्ब ६६ करोड ३२ लाख २९ हजार रुपैयाँ) र पुँजीगततर्फ ६४.३६ प्रतिशत (२६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार रुपैयाँ) छुट्याइएको छ ।
स्रोत व्यवस्थापनका लागि आन्तरिक राजस्वबाट ११ अर्ब २२ करोड ७५ लाख, संघीय राजस्व बाँडफाँडबाट १२ अर्ब ८३ करोड, संघीय वित्तीय अनुदानबाट ९ अर्ब ४९ करोड ५९ लाख, चालु आवको नगद मौज्दातबाट ६ अर्ब ८ करोड ५२ लाख र आन्तरिक ऋणबाट १ अर्ब ५० करोड रुपैयाँ जुटाउने लक्ष्य राखिएको छ। यसका साथै संघीय सरकारबाट वित्तीय समानीकरण (७ अर्ब ८४ करोड ८५ लाख), सशर्त (८ अर्ब १० करोड २८ लाख), समपूरक (९४ करोड ७४ लाख) र विशेष अनुदान (७० करोड) गरी कुल १७ अर्ब ५९ करोड २७ लाख रुपैयाँ अनुदान प्राप्त हुने अनुमान गरिएको छ।
