एमआरपी कार्यान्वयनको विरोधमा व्यवसायीद्वारा वीरगञ्ज भन्सार ठप्प, राजस्व सङ्कलन प्रभावित

छानबिन न्यूज
पाठक संख्या 41
1 Min Read
Oplus_16908288

१७ बैसाख,बारा । सरकारले भन्सार विन्दुमा भित्रिने सबै किसिमका उत्पादनमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) लागू गर्ने हालैको निर्णय कार्यान्वयन गर्न खोज्दा वीरगञ्ज भन्सारलगायत मुलुकका विभिन्न भन्सार कार्यालयहरूबाट हुने राजस्व सङ्कलन कार्य प्रभावित भएको छ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख कृष्णप्रसाद मैनालीका अनुसार आयातकर्ता र निर्यातकर्ताहरूले विगत दुई दिनदेखि जाँचपासका लागि फाराम भर्नेदेखि घोषणा गर्नेसम्मका कुनै पनि प्रक्रियागत कार्यमा सहभागी नभएपछि भन्सार जाँचपास पूर्ण रूपमा रोकिएको हो।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले एमआरपीको प्रावधान अव्यावहारिक भएकाले आफूहरू विरोध स्वरूप प्रक्रियामा सहभागी नभएको स्पष्ट पारेका छन्।

उद्यमी-व्यवसायीको यो असहयोगका कारण दैनिक ५० देखि ६० करोड रुपैयाँसम्म राजस्व सङ्कलन गर्दै आएको वीरगञ्ज भन्सारमा हाल गिरावट आएको छ, यद्यपि पेट्रोलियम पदार्थ, सागसब्जी, फलफूल तथा औद्योगिक कच्चापदार्थको जाँचपासमा भने कुनै अवरोध नभएकाले त्यसबाट ३१ करोड रुपैयाँ राजस्व सङ्कलन भएको विभागले जनाएको छ।

प्रतिक्रिया
शेयर