ईर्साद अन्सारी
२० फागुन,काठमाण्डाैं । गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा बुधबार ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग भएको करिब तीन घण्टा लामो भर्चुअल बैठकले भोलि फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण सुरक्षा तथा व्यवस्थापकीय तयारी पूरा भएको निष्कर्ष निकालेको छ।
मन्त्रालयका सह-प्रवक्ता रमा आचार्यका अनुसार उक्त बैठकमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले निर्वाचनका लागि आवश्यक कर्मचारी, सुरक्षा संयन्त्र र निर्वाचन सामग्रीहरू सम्बन्धित मतदान स्थलमा पुगिसकेको र सुरक्षा अवस्था सामान्य रहेको जानकारी गराएका छन्।
बैठकमा जिल्लाको विद्यमान अवस्था, सुरक्षा संवेदनशीलता र निर्वाचनका दिन अपनाउनुपर्ने सतर्कताबारे विस्तृत समीक्षा गर्दै गृहसचिव श्रेष्ठले सुरक्षा व्यवस्थालाई थप मजबुत र प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ भने केन्द्र र जिल्लाबीच आवश्यक समन्वय गरी शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्ने रणनीति समेत तय गरिएको छ।
