३ फागुन,बारा । बारा जिल्लाको प्रहरी प्रशासनभित्र लामो समयदेखि एउटै जिल्लामा जरो गाडेर बसेका सई दिपक बस्नेतको कार्यशैलीले अहिले संगठनकै छविमाथि गम्भीर प्रश्न उठाएको छ।
ट्राफिक कार्यालय पथलैयामा सिपाही पदबाटै आफ्नो जागिरे जीवनको लामो समय व्यतित गरेका बस्नेत, हाल जिल्ला प्रहरी कार्यालय बाराको अपराध अनुसन्धान शाखा (क्राइम ब्रान्च) मा कार्यरत रहे पनि उनको विज्ञता अपराध नियन्त्रणमा भन्दा ‘हाकिम रिझाउने’ र ‘आर्थिक चलखेल’ मा बढी केन्द्रित रहेको आरोप लागेको छ।
सडक र ट्राफिक व्यवस्थापनको मात्र अनुभव भए तापनि शक्तिको चरम दुरुपयोग गर्दै अपराध अनुसन्धान जस्तो संवेदनशील शाखामा पुग्न सफल बस्नेत, कार्यक्षेत्रमा खटिनुको साटो आर्थिक आर्जनका मुख्य केन्द्र मानिने पथलैया र वीरगन्ज भन्सार (आइसिपी) क्षेत्रमा बढी समय बिताउने गरेका छन्।
अपराध अनुसन्धानमा शून्य नतिजा र व्यावसायिक असफलताका बाबजुद पनि केवल माथिल्लो निकायका हाकिमहरूलाई प्रभावमा पारेर जिल्ला नछोड्ने उनको यो ‘कमाऊ धन्दा’ ले इमानदार प्रहरी अधिकृतहरूको मनोबल गिराएको मात्र छैन, बाराको शान्ति सुरक्षालाई समेत चुनौती दिएको छ।
