२० फागुन,काठमाण्डाैं । मध्यपूर्वमा विकसित पछिल्लो सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको अनलाइन पोर्टलको प्रभावकारी कार्यान्वयनका लागि खाडी क्षेत्रका विभिन्न नेपाली दूतावासहरूले सक्रिय रूपमा प्रचारप्रसार र समन्वय सुरु गरेका छन् ।
यसै क्रममा नेपाली दूतावास रियादले साउदी अरेबिया र यमनमा रहेका नेपाली नागरिकहरूको अवस्था बुझ्न र आवश्यक परेको खण्डमा तत्काल उद्धार तथा सहयोगका लागि सूचना सङ्कलन गर्नुपर्ने भन्दै सबै नेपाली श्रमिकहरूलाई आफ्नो विवरण पोर्टलमा दर्ता गर्न आग्रह गरेको छ ।
यस कार्यलाई थप व्यवस्थित बनाउन विभिन्न राजनीतिक दल सम्बद्ध प्रवासी सङ्घसंस्थाले समेत नेपालीहरूको सहयोगका लागि सम्पर्क व्यक्तिहरू तोकेर समन्वय गरिरहेका छन्, जसले गर्दा विदेशमा रहेका नेपालीहरूको सुरक्षा सुनिश्चित गर्न र तथ्याङ्क अध्यावधिक राख्न मद्दत पुग्ने विश्वास गरिएको छ ।
